बकैया–१ मा उम्मेदवार गौतमको प्रतिबद्धताः लालपुर्जा साझा समस्या हो,समाधानका लागि लड्छु

बाइलाइन नेपाल
२७ माघ २०८२, सोमबार १२:५३

बकैया/ मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर–१ मा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। मकवानपुर क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमलाई विजयी गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमकै अवसरमा २०४६ सालदेखि नेकपा एमालेमा सक्रिय राजनीति गर्दै आउनु भएका कान्छालाल वाइबाले एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका छन्। यससँगै आजै बकैया गाउँपालिकाका विभिन्न वडामा घरदैलो अभियानसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विजय गौतमले मकवानपुरको पूर्वी क्षेत्रका नागरिकले भोग्दै आएको अव्यवस्थित बसोबास र लालपुर्जा समस्यालाई साझा दुःखको रूपमा प्रस्तुत गरे। उनले पालिकाका जनप्रतिनिधिहरूको पहलमा भूमिहीन दलित तथा निरपेक्ष गरिबीको रेखामुनि रहेका नागरिकका लागि लालपुर्जा तयार गर्ने प्रक्रिया अघि बढिरहेको भए पनि समस्या अझै विकराल रहेको बताए।

“यो तपाईंहरूको मात्रै दुःख होइन, यो हाम्रो दुःख हो। मकवानपुरको पूर्वी क्षेत्रका सबै नागरिकको साझा दुःख हो,” गौतमले भने, “हरेक घरधुरी कुनै न कुनै रूपमा लालपुर्जा नभएको जग्गा भोगचलन गर्दै आएको छ। यसको स्थायी समाधानका लागि नीतिगत र कानुनी हस्तक्षेप आवश्यक छ।”

आफू कानुनको विद्यार्थी तथा वकिलसमेत रहेको उल्लेख गर्दै उनले सिंहदरबारसम्म यो मुद्दा पुर्‍याएर नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाए। “म किसान परिवारमा जन्मिएको, यही भूगोलले हुर्काएको छोरो हुँ। भाइ, भतिज र आफ्नै मान्छे ठानेर विश्वासका साथ मत दिनुहोस्। त्यो विश्वासलाई म मन, वचन र कर्मले कहिल्यै टुट्न दिने छैन,” उनले भने।

कार्यक्रममा उनले मकवानपुरको पूर्वी क्षेत्रलाई नेपाली कम्युनिष्ट आन्दोलनको ‘लाल किला’ को रूपमा स्मरण गर्दै यहीँबाट विजयको झण्डा फहराउने समय आएको दाबी गरे। “बकैया, बागमती र हेटौंडाबीच राम्रो तालमेल गरेर अघि बढ्यौँ भने हाम्रो विजयलाई कसैले रोक्न सक्दैन,” उनले जोड दिए।

गौतमले आगामी फागुन २१ गतेसम्म ‘तारा’ चिन्हमा मत हाल्न आग्रह गर्दै कार्यकर्तालाई घर–घरमा पुगेर प्रचार गर्न आह्वान गरे। “तपाईं–तपाईं नै विजय गौतम हो। हरेक घरमा मेरो प्रतिनिधि बनेर पुग्नुहोस् र भरोसाका साथ मत माग्नुहोस्,” उनले भने।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरू युवराज भट्टराई ‘समिर’, धनप्रसाद गौतम, प्रमिला पुलामी, भिम पाख्रिन, बागमती प्रदेश कमिटी सदस्यहरू लक्ष्मी माझी, जीवन गोले, लोकनाथ गौतम, बोदनाथ देवकोटा, सुनिल खड्का, भक्तबहादुर खत्री, परशुराम गौतम, बकैया गाउँपालिका अध्यक्ष विमल नेपाल, वाइसीएल मकवानपुर उपाध्यक्ष प्रेम लामा थिङलगायतका नेताहरूले मन्तव्य राखेका थिए।

कार्यक्रमको अध्यक्षता नेकपाका वडा कमिटी अध्यक्ष अञ्जन थिङले गरेका थिए भने स्वागत मन्तव्य बकैया गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष आशिष तितुङले दिएका थिए।

अन्त्यमा उम्मेदवार गौतमले उपस्थित कार्यकर्ताप्रति आभार व्यक्त गर्दै आफू इमान, निष्ठा र जुझारूपनका साथ अभियानमा जुटिरहने प्रतिबद्धता व्यक्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*