मकवानपुरमा ठूला दलले टुंगो लगाए उम्मेदवार, कसले पाए कुन क्षेत्रबाट टिकट ?
हेटौंडा । प्रतिनिधि सभाका लागि फागुन २१ गते हुने निर्वाचनका लागि मकवानपुरमा रहेका ठूला दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् । उम्मेदवारको पत्र बोकेर केही हेटौंडा आइसकेका छन् भने कोही हेटौंडा आउने क्रममा रहेका छन् । भोली माघ ६ गते उम्मेदवारी मनोनयन रहेकाले पनि सबै दल र उम्मेदवारहरुको दौडधूप तीब्र रहेको छ ।
हालसम्म नपाली कम्युनिष्ट पार्टी ( नेकपा) बाट मकवानपुरको क्षेत्र नम्बर १ मा युवा नेता विजय गौतमलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपाले क्षेत्र नम्बर २ बाट थाहा नगरपालिकाका संस्थापक मेयर लवशेर विष्टलाई उम्मेदवारको टिकट दिएको छ । दुवै जना संसदीय राजनीतिमा नयाँ अनुहार हुन् ।
यस्तै नेकपा एमालेले क्षेत्र नम्बर १ मा पाका नेता रामेश्वर रानालाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ मा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई उम्मेदवार बनाउने भएको छ । बर्तौला २०७९ को निर्वाचनमा २ नम्बर क्षेत्रबाट विजयी भएका थिए ।
यसैगरी, नेपाली काँग्रेसले क्षेत्र नम्बर १ मा पुरानै अनुहार महालक्ष्मी डिना उपाध्यायलाई उम्मेदवार बनाउने भएको छ । उपाध्यक्ष २०७९ को निर्वाचनमा त्यही क्षेत्रमा पराजित भएकी थिइन् । क्षेत्र नम्बर २ मा काँगेसले बुद्ध लामालाई उम्मेदवार बनाउने भएको छ । उनि काँग्रेस मकवानपुरको सभापति हुन् ।
यस्तै राप्रपाबाट क्षेत्र नम्बर एकमा दीपकबहादुर सिंहलाई नै उम्मेदवार बनाउने भएको छ । २०७९ को निर्वाचनमा विजयी भएका सिंह फेरि उम्मेदवार बनेका हुन् । राप्रपाले क्षेत्र नम्बर २ मा रामबहादुर थोकरलाई उम्मेदवार बनाउने भएको छ ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नम्बर १ बाट प्रकाश गौतम र क्षेत्र नम्बर २ बाट प्रशान्त उप्रेतीलाई उम्मेदवार बनाउने भएको छ । दुवै उम्मेदवार युवा रहेका छन् ।
यस्तै प्रगतिशील लोकतान्त्रीक पार्टीले मकवानपुरमा दुवै नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको छ । पार्टीले क्षेत्र नम्बर १ मा तेजप्रसाद उप्रेती(रमेश) र क्षेत्र नम्बर २ मा सन्तोष विष्टलाई उम्मेदवार बनाउने भएको छ ।
यसैगरी श्रम संस्कृति पार्टीले मकवानपुरको क्षेत्र नम्बर १ मा विद्या श्रेष्ठ र क्षेत्र नम्बर २ मा युनेश लामालाई उम्मेदवार बनाउने भएको छ । उज्यालो नेपाल पार्टी सहित अन्य दलले भने उम्मेदवारको उन्तिम टुंगो लगाई सकेका छैनन् ।

ध्रुव अधिकारी 











