आजबाट छठ पर्व सुरु, यस्तो छ हेटौँडामा तयारी
हेटौँडा । आजबाट छठ पर्व सुरु भएको छ । आज छठको पहिलो दिन व्रतालु नहाय खाएर छठ आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन वर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिएर व्रत समाप्त हुने पूजा समापन हुने
बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको राप्ती तटमा छठ पर्वका लागि पण्डाल निर्माण गरिएको छ । हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको तटमा छठ पर्वका लागि राप्ती नदी किनार शृङ्गारिएको छ । संयुक्त मधेशी सेवा सेवा समाज नेपाल छठ पूजा समारोह समितिका अनुसार नदी किनारमा व्रतालु बस्न मिल्ने गरी धमाधम पण्डाल निर्माण गरिएको छ ।
हेटौँडा बजार क्षेत्रको राप्तीरोडदेखि राप्ती पुलसम्म झिलिमिली बत्ती, नदी छिर्न मूल गेट, सहायक गेट समेत निर्माण गरिएको छ । तराईमा मात्रै मूल रूपमा मनाउँदै आएको यसपर्व पछिल्ला वर्ष पहाडी क्षेत्रमा पनि भव्य रूपमा मनाउन थालिएको छ ।
छठले मकवानपुरमा मधेशी र पहाडी समुदायबिचको सद्भाव र आपसी सम्बन्ध सुमधुर बन्दै गएको छ । यसवर्ष हेटौँडाको राप्तीतटमा ६२ हजार भक्तजन आउने आयोजकको अनुमान छ । सामूहिक रूपमा पूजाका लागि २० फिट चौडा र ६५० फिट लम्बाइका ३५ वटा पण्डाल तयार भइरहेको संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासले जानकारी दिए ।

बाइलाइन नेपाल











