स्थानीयतहसँग समन्वय गर्न मुख्यमन्त्री कार्यालयमा समन्वय बनाईने

बाइलाइन नेपाल
२४ भाद्र २०८२, मंगलवार ०८:४८

हेटौंडा । प्रदेश सरकार, जिल्ला समन्वय समिति र स्थानीय तहहरूबीच निरन्तर समन्वय र सहकार्यको लागि मुख्यमन्त्री कार्यालयमा समन्वय डेस्क स्थापना गर्ने निर्णय गरिएको छ ।

बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको आयोजनामा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशसमितिबीच भएको अन्तरक्रियात्मक बैठकले मुख्यमन्त्री कार्यालयमा समन्वय डेस्क स्थापना गर्ने निर्णय गरिएको हो ।

बैठकले सुशासन, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश समितिबिच निरन्तर समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।

आजको बैठकले विभिन्न विषयमा माग राख्दै जेन-जी पुस्ताले गरेको आन्दोलनका क्रममा घट्न गएको अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली एवम् परिवाजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न संघीय सरकारलाई आग्रह गर्दै घाइतेहरूको उपचारका लागि बागमती प्रदेश सरकारको तर्फबाट समेत आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको छ । बैठकले आफ्ना मुद्दाहरूलाई शान्तिपूर्ण ढंगले संयमित भई राख्नका लागि सरोकारवाला सबै पक्षसँग बैठक आव्हान गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, प्रमुख सचिव भुपाल बराल, प्रदेश सचिव रितेश शाक्य, जिसस महासंघ बागमती प्रदेश अध्यक्ष ललित घलान, नगरपालिका संघका प्रदेश संयोजक उपेन्द्र कार्की, गाउँपालिका महासंघका बागमती प्रदेश अध्यक्ष कर्णबहादुर मगरसहित तीनवटै संघ/महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*