बागमतीको छैटौँ मुख्यमन्त्री भए बानियाँ, ८ मन्त्रीलाई सपथ
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई अपराह्न प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबिच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
नेपालको संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्री हुन् । उनी कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
बागमती प्रदेशका नवनियुक्त ८ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ८ मन्त्रीलाई सपथ ग्रहण गराएका हुन् ।
कांग्रेसका २ र एमालेका ६ मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री बानियाले एमालेबाट मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री जयराम थापालाई श्रम रोजगार तथा यातायात मन्त्री भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री नियुक्त गरेका थिए ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराउँदै ।
कांग्रेसबाट भने खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए। कांग्रेसको भागमा परेको प्रदेशका १४ मध्ये ७ मन्त्रालयमा दुई मन्त्री नियुक्त गरी अन्य ५ मन्त्रालय भने मुख्यमन्त्री बानियाँले आफै मातहत राखेका छन् ।

बाइलाइन नेपाल











