बागमतीको मुख्यमन्त्रीका लागि कांग्रेसका बानियाँको दाबी पेश

बाइलाइन नेपाल
२० श्रावण २०८२, सोमबार १७:०२

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् ।

सोमबार दिउँसो मात्रै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेकामा नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख समक्ष पेश गरिएको दाबीमा ११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख गरिएको छ । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया पनि सँगै पुगेका थिए ।

यसअघि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री पदमा दाबी पेश भएसँगै मंगलबार मुख्यमन्त्री नियुक्त गरेर मंगलबार नै अपरान्ह ४ बजेपछि शपथ ग्रहण गराउने प्रदेश प्रमुख कार्यालयको तयारी छ ।

आइतबार बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री लामाको संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) बमोजिम राजीनामा दिएका थिए ।

नयाँ मुख्यमन्त्री नियुक्तिका लागि संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभाबाट दुई वा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सदस्यले दाबी पेस गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्ने आह्वान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*