मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुख कार्यालयमा
हेटौंडा । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा पत्र आज सोमबार प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।
मुख्यमन्त्री लामाका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका छन् । स्वकीय सचिव लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजीनामा पत्र बुझाएका हुन् ।
बिरामी भएर काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा हेटौंडा आइसकेको जनाइएको छ ।
२०८१ साल साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका लामा साउन ९ गते शपथ लिएर पदभार सम्हालेका थिए। तर नेपाली कांग्रेस संसदीय दलभित्रको आन्तरिक कलहले राजीनामा गर्न बाध्य भएका छन् ।
लामाविरुद्ध आफ्नै दलका २१ सांसदले हस्ताक्षर गर्दै अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्तावमाथिको मतविभाजनमा २२ सांसदले प्रस्तावको पक्षमा मत दिएपछि लामाको हैसियत कमजोर बन्यो। त्यसपछि भएको संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँले २२ मत ल्याएर लामालाई पराजित गरे।

बाइलाइन नेपाल











