प्रादेशिक कृषि थोक बजार उपमहानगरपालिकालाई हस्तान्तरण
हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माण सम्पन्न भएको प्रादेशिक कृषि थोक बजारको आज एक समारोहका बीच उद्घाटन गरिएको छ।
बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ र हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले संयुक्त रूपमा थोक बजारको उद्घाटन गरेका हुन्।
२ विगाह ४ धुर क्षेत्रफलमा ३२ करोड १० लाख रुपैयाँ बजेटमा थोक बजार तयार भएको हो । बागमती प्रदेश सरकारअन्तर्गतको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको थोक बजारमा निर्देशनालयको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ।
समारोहका अवसरमा मन्त्री श्रेष्ठले थोक बजारको औपचारिक चाबी मेयर लामालाई हस्तान्तरण गर्दै बजारको व्यवस्थापन जिम्मा उपमहानगरपालिकालाई सुम्पिएको घोषणा गरे।
सुविधासम्पन्न उक्त कृषि थोक बजार सञ्चालनमा आएपछि हेटौंडा र आसपासका क्षेत्रका कृषक, व्यापारी तथा उपभोक्तालाई व्यवस्थित व्यापारिक पूर्वाधार उपलब्ध हुने अपेक्षा गरिएको छ।
थोक बजारमा सम्पूर्ण पूर्वाधारहरूसहितको आधुनिक संरचना तयार गरिएको छ। बेसमेन्ट भागमा कार र मोटरसाइकलका लागि अन्डरग्राउण्ड पार्किङ्ग सुविधा उपलब्ध छ, जसले भीडभाड व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
भुईँ तल्लामा २० वटा सटर राखिएको छ भने ४ वटा कार्गो लिफ्ट र २ वटा प्यासेन्जर लिफ्ट समेत जडान गरिएको छ। पहिलो तल्लामा पनि २० वटा सटर निर्माण गरिएको छ, जसले थोक कारोबारका लागि पर्याप्त व्यावसायिक स्थान सुनिश्चित गर्छ।
रिटेल सप ब्लक पनि सुसज्जित
थोक कारोबारसँगै खुद्रा कारोबारलाई समेत सहज बनाउने उद्देश्यले छुट्टै रिटेल सप ब्लक निर्माण गरिएको छ। रिटेल ब्लकको भुईँ तल्लामा ११ वटा सटर, २ वटा कार्गो लिफ्ट र थप २० वटा सटर छन्। त्यसैगरी पहिलो तल्लामा १२ वटा सटर थपिएका छन्, जसले खुद्रा बिक्रेतालाई उच्च गुणस्तरको सेवा प्रदान गर्न मद्दत गर्नेछ।
किसानका लागि विशेष टहरा
स्थानीय र क्षेत्रीय किसानहरूलाई सिधा बजार पहुँच सुनिश्चित गर्नका लागि २३२ वर्ग मिटरको किसान टहरा (सेड) बनाइएको छ। यहाँ किसानले आफ्नो उत्पादन सिधै बजारमा ल्याएर बिक्री गर्न सक्नेछन्।
प्रशासनिक भवन बहुउद्देश्यीय सुविधासहित
बजारको प्रशासनिक भवन पनि अत्याधुनिक ढाँचामा तयार पारिएको छ। भुईँ तल्लामा लबी, बैंकिङ हल, प्रतिक्षालय र बहुउद्देश्यीय हल छन्। पहिलो तल्लामा भने प्रमुखको कार्यकक्षसहित अन्य प्रशासनिक कोठाहरू समावेश गरिएका छन्, जसले प्रशासनिक कामकारवाहीलाई चुस्त बनाउनेछ।
क्यान्टिन र भण्डारणको प्रबन्ध
बजारमा दैनिक कार्यरत कर्मचारी, व्यापारी तथा किसानहरूका लागि क्यान्टिन, किचेन र छात्रावासको समेत व्यवस्था गरिएको छ। विशेष गरी किसानहरूलाई लक्षित गर्दै बनाइएको छात्रावासले बाहिरबाट आउने कृषकलाई पनि सहुलियत दिनेछ।
५०० मेट्रिक टन क्षमताको कोल्ड स्टोरेज
मूल्य स्थायित्व र कृषि उपजको संरक्षणका लागि बजार परिसरमै ४३७.२ वर्ग मिटर क्षेत्रफलको कोल्ड स्टोरेज स्थापना गरिएको छ, जसले करिब ५०० मेट्रिक टन कृषि उपज भण्डारण गर्न सक्छ। यो सुविधा विशेष गरी मौसमी उत्पादनहरूको दीर्घकालीन संरक्षणमा उपयोगी हुने अपेक्षा गरिएको छ।
अन्य सहायक संरचनाहरू पनि पूर्ण
यस बजारमा शौचालय, पिउने पानी, फोहोर व्यवस्थापन, सडक तथा नाली, सुरक्षाकर्मीको पोस्ट लगायतका सहायक संरचनाहरू पनि निर्माण गरिएको छ, जसले सम्पूर्ण बजारलाई एकीकृत र सफा बनाउनेछ। यस परियोजनाको सफल सम्पन्नतासँगै, हेटौंडा क्षेत्रलाई बागमती प्रदेशको कृषि कारोबारको केन्द्रबिन्दु बनाउने सम्भावना झन बलियो बनेको छ। कृषि उत्पादनमा आत्मनिर्भरता र कृषकको जीवनस्तर उकास्न यो बजार ‘गेम चेञ्जर’ सावित हुने अपेक्षा गरिएको छ।

बाइलाइन नेपाल











