साम्बा हेटौंडामा सञ्चारिकाको सम्मान
हेटौंडा । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई हेटौंडामा विशेष सम्मान गरिएको छ। देशबाहिर समेत नेपाली महिला फुटबललाई चिनाउने र प्रेरणाका स्रोत बनेकी साम्बालाई सञ्चारिका समूह मकवानपुरले शनिबार आयोजना गरेको ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रममा सम्मान गरिएको हो।
कार्यक्रममा साम्बालाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो। उनलाई सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सानुमाया गुरुङ (निशा), हेटौंडा उपमहानगरपालिकाका उप–प्रमुख राजेश बानियाँ र पुरस्कार प्रायोजक संस्था हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरण जोशीले संयुक्त रूपमा सम्मान गरेका थिए।
साम्बाले सम्मान ग्रहण गर्दै भनिन्, “देशलाई विश्वसामु चिनाउने सपना लिएर मैले यात्रा थालेकी हुँ। यो सम्मानले मेरो हौसला अझ बढाएको छ।’ उनले खेलकुद क्षेत्रलाई महिलामैत्री बनाउन समाज र राज्यको थप सहयोग आवश्यक रहेको समेत औंल्याइन्।
हालै न्यूजिल्याण्डको एक क्लबसँग आवद्ध भएकी साम्बा अब अष्ट्रेलियाली लिग खेल्ने तयारीमा छिन्। यसअघि फ्रान्सेली क्लबसँग आबद्ध हुँदै उनले अन्तर्राष्ट्रिय अनुभव आर्जन गरेकी थिइन्। भारत, इजरायल, र फ्रान्ससम्मको यात्रा तय गरेकी साम्बा नेपाली महिला फुटबल इतिहासकै सबैभन्दा सफल खेलाडीको रूपमा चिनिन्छिन्। उनले राष्ट्रिय टोलीबाट हालसम्म ४३ गोल गरिसकेकी छिन्, जुन नेपाली महिला खेलाडीबीच कीर्तिमान हो।कार्यक्रम ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ शीर्षकमा गरिएको भए पनि यसले राष्ट्रिय गौरव बोकेका प्रतिभाहरूसँग सहरको साक्षात्कार गराउने अभियानका रूपमा सन्देश दिएको थियो।
हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँले नगरको तर्फबाट साम्बालाई बधाई दिँदै खेलकुद क्षेत्रमा हेटौंडा नगरले अझ संरचनागत विकास गर्ने तयारीमा रहेको जानकारी दिए। “हाम्रो नगरमा खेलकुदको पूर्वाधार विस्तार गर्दै सामुदायिक स्तरमै फुटबलको विकासमा साम्बाजस्ता रोल मोडलले ठूलो भूमिका खेल्न सक्नेछन्,” उनले भने।
पुरस्कार प्रायोजक पुरण जोशीले भने, “साम्बाले अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको पहिचान हामी सबैका लागि गौरवको कुरा हो। हामी भविष्यमा पनि यस्ता प्रतिभाको साथ र समर्थनमा रहनेछौं।”
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य टीकाराम लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिं रानाभाट, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी सहित विभिन्न सञ्चार माध्यमका प्रतिनिधि, खेलप्रेमीहरू र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो।
सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सानुमाया गुरुङले साम्बाको उपलब्धि सम्पूर्ण देशकै गौरव भएको भन्दै युवा पुस्ताले साम्बाबाट प्रेरणा लिनुपर्ने बताइन्। उनले भनिन्, “हामी महिला पत्रकारको तर्फबाट साम्बाजस्ती प्रेरणादायी पात्रलाई सम्मान गर्नु हाम्रो सामाजिक उत्तरदायित्व हो।”

बाइलाइन नेपाल











