बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज
बागमती सरकारले चालु आर्थिक वर्षमा २६ प्रतिशत बजेट खर्च गर्न नसकेर फ्रिज भएको छ । प्रदेश सरकारले १६ अर्ब ७५ करोड रुपैयाँ बजेट खर्च गर्न नसकी फ्रिज भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।बागमती सरकारले चालु आर्थिक वर्ष (२०८१/०८२) विनियोजित कुल बजेटको ७४ प्रतिशतमात्र खर्च गरेको हो । कुल ६४ अर्ब ५४ करोड रुपैयाँको बजेटमा प्रदेश सरकारले असारसम्म ४७ अर्ब ७९ करोड रुपैयाँ खर्च गरेको हो ।
प्रदेश लेखा नियन्त्रकको कार्यालय, हेटौंडाका अनुसार बागमतीका १४ मन्त्रालय, आयोग र निकायहरुबाट चालु खर्चतर्फ ७१.५ प्रतिशत (१८ अर्ब ४० करोड रुपैयाँ) र पुँजीगततर्फ ७८.५० प्रतिशत (२८ अर्ब ४० करोड रुपैयाँ) बजेट खर्च भएको छ ।
प्रदेश सरकारले चालु खर्चतर्फ २५ अर्ब ७२ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो भने विकास बजेटतर्फ ३७ अर्ब ३१ करोड रुपैयाँ गरी कुल ६४ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारले असार महिनामा मात्र कुल खर्चको १९ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारका मन्त्रालय र निकायले गत जेठ मसान्तसम्मको अवधिमा कुल विनियोजित बजेटको ५५.५६ प्रतिशत रकममात्र खर्च गरेका
थिए ।
गत वर्षको तुलनामा बागमती सरकारको बजेट खर्च सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्ष ७० प्रतिशत बजेट खर्च गरेको बागमती सरकारले चालु आर्थिक वर्षमा ७४ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायका अनुसार राजनीतिक असन्तुलन र सरकार परिवर्तनको असर नपर्दा कार्यक्रम कार्यान्वयनमा सहज भएकाले बजेट खर्च केही बढेको हो ।

बाइलाइन नेपाल











