जिल्ला प्रशासन मकवानपुरमा फोटो र भिडियो खिच्न रोक
हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कार्यालय परिसर र कार्यालय भित्र फोटो र भिडियो खिच्न रोक लगाएको छ । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको निर्देशनमा जिल्ला प्रशासन कार्यालय परिसर र कार्यकक्षमा फोटो भिडियो खिच्न रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको परिसर भित्र र प्रजिअको कार्यकक्षबाहिर अनुमति बिना फोटो भिडियो खिच्न मनाही लेखिएको पम्प्लेट टाँसिएको छ । असार ६ गते नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रजिअ श्रेष्ठले पत्रकारलाई भिडियो खिच्न रोक लगाएकी थिइन् । तर अहिले प्रशासनले सूचना नै टाँसेर रोक लगाएको छ ।
काँग्रेस र रास्वपाको कार्यक्रममा पत्रकारलाई फोटो र भिडियो खिच्न रोक लगाइएको विषयमा ध्यानाकर्षण गर्न गएको पत्रकार महासंघ मकवानपुरको टोलीलाई मकवानपुरकी प्रमुख जिल्ला अधिकारी श्रेष्ठले अनुमति बिना प्रशासनको कुनै पनि गतिविधि खिच्न रोक लगाइएको जवाफ दिएकी छन् । उनले अहिले सूचना नै टाँस गरेर रोक लगाइएको जानकारी दिंदै यो रोक पत्रकारलाईसमेत भएको बताइन् ।
पत्रकारहरुलाई प्रजिअ श्रेष्ठले भिडियो खिच्न रोक लगाएको विषयमा पत्रकार महासंघको जिल्लादेखि केन्द्रीय समितिसमेतले विज्ञप्तिमार्फत फोटो भिडियो खिच्न रोक लगाइनु प्रेस स्वतन्त्रताको हनन् भएको भन्दै विरोध जनाएको थियो । महासंघ मकवानपुरको असार १२ गते बसेको बैठकले प्रशासनमा फोटो भिडियो खिच्न रोक लगाएको विषयमा खेद प्रकट गर्ने निर्णय गरेको थियो । सो विषयमा भत्र्सना गर्दै आगामी दिनमा यस्तो गतिविधि नदोहो¥याउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउने कार्यक्रमअन्तर्गत महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीसहितको टोली बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेको थियो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कार्यालय परिसर र प्रजिअ कार्यकक्षमै फोटो भिडियो खिच्न रोक लगाइएको विषयमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले आश्चार्य प्रकट गरेका छन् । ‘अनुमति लिनपर्ने एरिया कानुनले निर्धारण गर्छ नि, त्यो उहाँहरुले तोक्ने कुरा हैन नि, कुन सिडिओ अफिसमा यस्तो व्यवस्था छ ? प्रधानमन्त्री कार्यालयमा त यो बन्देज छैन ।’ दाहालले भने–‘सिडिओ सापले कुन कानुनअनुसार यो गर्नुभएको हो, त्यसको जवाफ दिनुपर्छ, पत्रकारलाई नै समाचार संकलनमै बाधा हुनेगरी यस्तो गर्नु गलत हो ।’
फोटो भिडियो खिच्न अनुमति लिनुपर्ने कार्यालयको गेटमै पम्प्लेट टाँसिएको विषयमा ध्यानाकर्षण गराउँदा प्रजिअ श्रेष्ठले त्यसलाई हटाउने प्रतिवद्धता जनाइन् । ‘कार्यकक्षमा चाहिँ अलाउ गर्दैनौँ, बाहिर मिटिङ हलमा अलाउ गरौँला, बाहिर कतै कहिँ त्यस्तो टाँसिएको भए म निकालौँला ।’ उनले भनिन् ।

बाइलाइन नेपाल











