विपद्को सामना गर्न राक्सिराङ तयारीमा
हेटौडा । राक्सिराङ गाउँपालिकामा विपद् व्यवस्थापन समिति बैठक भएको छ। आउँदै गरेको मनसुनमा हुन सक्ने प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण तथा आवश्यक पूर्वतयारीका लागि बैठक बसेको हो।
बैठकमा चट्याङ पूर्वसूचना प्रणालीको जडान, भाडाकुडा तथा सिरक–डसना खरिद, डडेलो व्यवस्थापन सम्बन्धी तालिमको सञ्चालन तथा प्रभावितहरूलाई राहत वितरणलगायतको कार्य गरिएको थियो।
बैठकले प्रिमनसुन अवधिमा आउने हावाहुरी तथा भारीवर्षाका कारण हुन सक्ने क्षतिको आँकलन गरी पूर्वतयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।साथै, विपद् व्यवस्थापनमा संलग्न स्वयमसेवकहरूलाई सुरक्षा निकायको समन्वयमा कृत्रिम अभ्यास सहितको पुनर्ताजगी तालिम सञ्चालन गरिने भएको छ।
यस्तै, विपद्को कारण क्षति पुगेका मोटरबाटोलाई ग्रावेल गर्ने, हेलिप्याड, खानेपानी मुहान र पाइपलाइनको सुरक्षा, खुला ठाउँ तथा आश्रयस्थलको व्यवस्थापनमा विशेष ध्यान दिने, सूचनाप्रति चनाखो रहने र क्षति भएका घटनाहरू तत्काल नगर प्रहरीलाई जानकारी गराउने निर्णय गरिएको छ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बैठक प्राकृतिक विपद् व्यवस्थापनमा स्थानीय तहको सक्रियता र समन्वय अपरिहार्य रहेको भन्दै समुदायस्तरमा समेत सजगता र सहभागिता जरुरी रहेको बताए। विपद् पूर्वतयारी नै प्रभावकारी व्यवस्थापनको आधार हो। हामी सतर्क र सशक्त भएर अगाडि बढ्नुपर्छ।” उनले भने ।
बैठकमा सहभागी सरोकारवाला निकायहरूले आआफ्नो क्षेत्रबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाएका छन्। गाउँपालिका अध्यक्ष राज कुमार मल्लको अध्यक्षतामा बैठक भएको थियो।
त्यस्तै बैठकमा उपाध्यक्ष बनस्तम थिङ, प्रशासकीय प्रमुख पदमबहादुर बस्नेत, वडा अध्यक्षहरू, रेडक्रस प्रतिनिधि, प्रहरी चौकी चैनपुर, नगर प्रहरीलगायत सरोकारवाला निकायहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बाइलाइन नेपाल











