अब राक्सिराङमा चट्याङ पर्नु अघि साइरन बज्ने
चट्याङजन्य प्रकोपबाट जनधनको क्षति न्यूनीकरण गर्न मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ पूर्वसूचना दिने यन्त्र सेन्सर सहितको साइरन स्थापना गरिएको छ।
साउथ एशियन लाइट्निङ नेटवर्कका अध्यक्ष तथा अनुसन्धानकर्ता श्रीराम शर्माका अनुसार, दक्षिण एसियामै पहिलोपटक सफल परीक्षणपछि यो यन्त्र राक्सिराङमा जडान गरिएको हो। “यस यन्त्रले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियसभित्र चेतावनी दिन” शर्माले बताए।
यसअघि नगरकोटमा सफल परीक्षण गरिएको थियो। यो प्रणालीले चट्याङ आउनुभन्दा करिब १६ मिनेटअघि पूर्वसूचना दिनेछ, जसले सर्वसाधारणलाई सुरक्षित स्थानमा जानको लागि सन्देश प्रवाह गर्ने अनुसन्धानकर्ता शर्माले बताए ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ्ग उच्च विपद् जोखिमयुक्त क्षेत्र भएकाले यस्तो प्रविधिको अत्यावश्यक रहेको बताए। “पूर्व जानकारी पाउने व्यवस्था भएपछि हामीलाई चट्याङबाट सचेत गराउन र सुरक्षाका उपाय अपनाउन सहज हुनेछ,” अध्यक्ष मल्लले बताए।
स्थानीय स्तरमा यस प्रविधिको स्थापना हुँदै गर्दा समुदायमा चट्याङ प्रति सचेतना अभिवृद्धि हुने र समयमै सुरक्षित ठाउँ खोज्न सकिने सम्भावना देखिएको उनले बताए । प्राविधिक टोलीले सबै साइरन यन्त्रहरू जडान गर्ने जनाइएको छ ।
वडा नम्बर १ को राम्चे, वडा २ र ३ को भाट्टी, वडा ४ को वडा कार्यालय, वडा ५ को चैनपुरमा मुख्य सेन्सर सहितको साइरन, वडा ६ को सिलिङ्गेको विद्यालय भवन, वडा ७ को गर्लिङ, वडा ८ को पाङ्बुङ र वडा ९ को प्रहरी चौकी कन्द्राङमा साइरन प्रणाली राखिनेछ ।
पिपुल इन निडको आर्थिक सहयोग र साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा एउटा मुख्य सेन्सर र आठवटा साइरन सिस्टम वितरण गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत, वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्षहरू तथा प्राविधिक समूहको उल्लेखनीय उपस्थिति रहेको थियो।

बाइलाइन नेपाल











