हियर नेपालद्वारा विद्यालय नर्सहरुलाई व्यवहारिक ज्ञान प्रदान

बाइलाइन नेपाल
८ बैशाख २०८२, सोमबार १२:५०

हेटौडा । विद्यालय स्वास्थ्य सेवा सुदृढीकरणका लागि स्वास्थ्य शिक्षा, चेतना तथा अधिकार नेपाल (हियर नेपाल) द्वारा सञ्चालित विद्यालय नर्स तालिमको आठौं ब्याच काठमाडौंमा भएको छ।

चैत २७ देखि २९ गतेसम्म तीन दिन सञ्चालन भएको उक्त तालिममा विद्यालय स्वास्थ्य सेवाका लागि आवश्यक ज्ञान, सीप र व्यवहारिक अभ्यासहरूबारे सहभागी नर्सहरूलाई विस्तृत प्रशिक्षण दिइएको थियो।

तालिमको समापन सत्रको प्रमुख अतिथि समाज कल्याण परिषद्की सहायक निर्देशक सुस्मा खड्काले संस्थाले अत्यन्तै उपयोगी र सान्दर्भिक विषयमा प्रशिक्षण दिएको उल्लेख गरिन् । उनले सिकेका सीप र ज्ञमालाई विद्यालय तथा समुदायमा कार्यान्वयन गर्न आग्रह गरिन् । सहायक निर्देशक खड्काले विद्यार्थीहरूसँग प्रत्यक्ष सम्पर्कमा रही उनीहरूको स्वास्थ्य सुधार र उपचारमा इमान्दारीपूर्वक योगदान दिन नर्सहरुलाई आग्रह गरेकी थिइन् ।

त्यसैगरी प्रा.डा.मन्दिरा शाही, कुञ्ज प्रसाद जोशी र कृष्ण चन्द विज्ञ प्रशिक्षकहरूले सहभागीहरूलाई विद्यालयमा व्यवहारिक रूपमा सेवा प्रदान गर्ने तरिकाबारे निर्देशन र सुझाव दिएका थिए।

तालिममा किशोर–किशोरी स्वास्थ्य, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, पोषण, यौन दुर्व्यवहारबाट बच्ने उपाय, महिनावारी व्यवस्थापन र प्राथमिक उपचार जस्ता महत्वपूर्ण विषयहरूमा व्यापक प्रशिक्षण दिइएको थियो।

विद्यालय स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि योग्य र दक्ष नर्सहरूको आवश्यकता रहेको बताउँदै प्रशिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान विद्यालयमा लागू गर्न आग्रह गरे।

तालिमको समापन गर्दै हियर नेपालका अध्यक्ष माधव जोशीले तालिम औपचारिकता मात्र होइन, कार्यदक्षता अभिवृद्धि गर्ने अवसर भएको बताए । उनले विद्यालय नर्सहरूले देखाउने सक्रियता र समर्पणले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गरे ।

सहभागी नर्सहरूले तालिमलाई अत्यन्त उपयोगी, व्यवहारिक र प्रेरणादायक भएको प्रतिक्रिया दिँदै सिकेका सीप र ज्ञान विद्यालयमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे।

हियर नेपालले आगामी दिनमा अन्य जिल्लाहरूमा पनि विद्यालय नर्स तालिम विस्तार गर्ने योजना बनाएको छ । जसले विद्यालय स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउने र विद्यार्थीहरूको समग्र स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*