मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

हेटौंडा । कान्तिलोकपथ अन्र्तगत मकवानपुरगढी गाउँपालिकामा इभी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
कान्तिलोपथ खण्डको मकवानपुरगढी गाउँपालिका–२ धरमपानीमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बाप्र ०१–००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार सर्लाहीको बागमती गाउँपालिका–७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर–५ बस्ने ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको छ । मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा १४ जना घाइते भएका छन् । चालक सर्लाही बागमती गाउँपालिका-५ का २९ वर्षीय कमलबहादुर दर्लामीसहितका घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । गाडी सडकबाट करिब २०० मिटर तल खसेको जनाइएको छ । घटना सम्वन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।