निर्वाचन समितिले त्रुटी सच्याएपछि क्रान्तिकारीले खोल्यो ताला

बाइलाइन नेपाल
२ चैत्र २०८१, आईतवार ०८:५४

हेटौंडा । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुरले शुक्रबार साँझ हेटौंडा क्याम्पसमा लगाएको ताला खोलेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रियामा हेटौंडा क्याम्पस स्ववियु निर्वाचन समितिले त्रुटी भएको स्विकार गर्दै सच्याएपछि अखिल (क्रान्तिकारी) ले ताला खोलेको जिल्ला अध्यक्ष बुद्धराज अर्यालले जानकारी दिए ।

गलत निर्वाचन प्रक्रियाको विरोध गर्दै संगठनले निर्वाचन समितिको कार्यकक्षमा ताला लगाएपछि अखिल (क्रान्तिकारी), निर्वाचन समिति र क्याम्पस प्रशासन बीच भएको वार्तामा निर्वाचन समितिले गल्ती भएको स्विकार गर्दै सच्याउने र अब गल्ती नगर्ने प्रतिबद्धता जनाएपछि ताला खोलिदिएको अध्यक्ष अर्यालले बताए ।

स्ववियुको निर्वाचन प्रक्रियामा निर्वाचन समितिले विधि र प्रक्रिया बाहिर गएर सत्ता पक्षीय संगठनलाई सहज हुने गरी मतपत्रमा नाम सार्वजनिक गरेपछि क्रान्तिकारीले ताला लगाएको थियो ।

हेटौंडा क्याम्पसको स्ववियुु निर्वाचन प्रक्रियामा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले छुट्टाछुुट्टै उम्मेदवारी दिएपनि निर्वाचन समितिले फिर्ता लिएका उम्मेदवारीका स्थानमा एकअर्का संगठनका उम्मेदवारलाई राखेर मतपत्र तयार पारेपछि अखिल (क्रान्तिकारी) आन्दोलनमा उत्रिएको थियो ।

वार्तामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य दिनेश सुवेदी, हेटौंडा क्याम्पस प्रमुख बालकृष्ण शर्मा, निर्वाचन अधिकृत नमुना पाण्डे, निर्वाचन समितिका सदस्यहरु, रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बागमती प्रदेश संयोजक प्रकाश चौलागाईं, अनेरास्ववियु मकवानपुर अध्यक्ष अमृत बर्तौला,नेविसंघ मकवानपुर अध्यक्ष भिषण ठकुरी, अनेरास्ववियु मकवानपुर अध्यक्ष अरुण बर्तौला,अखिल (क्रान्तिकारी) मकवानपुर अध्यक्ष बुद्धराज अर्याल,राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मकवानपुर अध्यक्ष आशिष चौलागाईं, हेटौंडा क्याम्पस स्ववियु उम्मेदवार दीपक वाइबा,अभि मैनालीलगायतको उपस्थिति रहेको थियो।

यसअघि मकवानपुर बहुुमुखी क्याम्पसको स्ववियुु निर्वाचन अन्र्तगत निर्वाचन समितिले समानुपातिकतर्फ नेविसंघ र अनेरास्ववियको नामावलीमा विधि र प्रक्रिया भन्दा फरक रुपमा प्रकाशन गरेपछि अखिल (क्रान्तिकारी) ले ताला लगाएको थियो । निर्वाचन समितिले गल्ती सच्याएर अबदेखि यस्तो गल्ती नगर्ने प्रतिवद्धता पछि ताला खुलेको थियो ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत्र ५ गते रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*