देशका लागि राजा र जनता बीच सहकार्य आवश्यकः कमल थापा

हेटौडा । राप्रपा नेपालका अध्यक्ष एवम पूर्व गृह मन्त्री कमल थापाले देश जोगाउन राजा र जनताको सहकार्य आवश्यक रहेको बताएका छन् । शुक्रबार हेटौडामा आयोजित अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रिय एकताको विषयमा राजनीतिक दलहरूको एउटै स्वर नहुँदा बाह्य शक्तिहरूले आक्रमण गगरिरहेको भन्दै अब देशलाई जोगाउन राजा र जनता बीच सहकार्यको आवश्यकता भईसकेको बताएका हुन् ।
प्रजातन्त्र दिवसका अवसरमा राज ज्ञानेन्द्रे दिएको सकारात्मक सन्देशलाई केही नेताहरूले कटाक्ष गरेको भन्दै यो संविधानले बिचार र स्वतन्त्रताको ग्यारेन्टी गरेकोले राजाका बिचारलाई अतिक्रमण गर्न खोज्नु गलत भएको टिप्पणी गरे । अहिले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा लाखौँ जनताहरू लागिसकेको भन्दै उनले राजाको मन्तव्य कसैको विरुद्ध नभएको दाबी गरे । राजालाई दोष देखाएर आफ्ना गल्तीहरू ढाकछोप गर्न खोज्नेहरूलाई अब जनताले नछाड्ने भन्दै उनले लोकतन्त्रको नाममा लुटतन्त्र गर्न कसैलाई छुट नभएको बताए ।
अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै थापाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुरस्थापना हुने समय आइसकेको दाबी गरे । विदेशी शक्तिहरूको प्रभाव देशमा परेकाले आफूहरू विस्थापित हुनुपरेको भन्दै उनले अब राप्रपाको एकता जरुरी भएको बताए । मलाई अब पद चाहिएको छैन् पार्टी एक भएर राष्ट्र केन्द्रित गराउन सके पुग्छ उनले भने ।
आफूले अब निर्वाचनमा समेत भाग नलिने घोषणा गरिसकेको भन्दै उथापाले पार्टीलाई एकढिक्का गराएर राष्ट्रवादी,देशभक्त र प्रजातन्त्रवादी शक्तिहरूबिच एकता अहिलेको आवश्यकता रहेको बताए । कार्यक्रममा जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटा,राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलालगायत जिल्लाका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।