नेपाली विद्यार्थीको मृत्यु र दुव्यवहारको क्रान्तिकारीद्वारा विरोध

बाइलाइन नेपाल
९ फाल्गुन २०८१, शुक्रबार २१:३२

हेटौंडा । भारतको उडिशा राज्यको कीट विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालको शंकास्पद मृत्यु र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई गरिएको दमनका विरुद्ध अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीको आयोजनामा बुधबार साँझ बिरोध प्रदर्शन गरेको छ ।

बिरोध कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) मकवानपुरका सचिव वीरबहादुर घलान (ज्वाला) ले भारतमा अध्ययन गर्न गएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको हत्या भएको र हत्याको छानबिन गरि दोषीलाई कडा कार्वाह गर्नुपर्ने बताए। उनले विद्यार्थीहरुको शैक्षिक भविश्य सुनिश्चितका लागि आग्रह गरे ।

अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटी उपाध्यक्ष सुजन सिलवालको अध्यक्षतामा भएको विरोध कार्यक्रममा अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समिति अध्यक्ष वुुद्धराज अर्यालले भारतको कीट विश्वविद्यालयमा अध्ययनरत करिब ५ सय नेपाली विद्यार्थीहरुको सुरक्षाको ग्यारेन्टीको जिम्मा विश्वविध्यालयले लिनुपर्ने र नेपाली विद्यार्थीले राखेका ८ बुँदे माग संबोधन गर्न आग्रह गरे । उनले विद्यार्थीले राखेका माग सम्बोधन नभएमा कडा आन्दोलन गर्ने बताए ।

कार्यक्रममा प्रकृति लम्साललाई न्याय देउ, नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गर जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
सोही क्रममा प्रकृति लम्सालको आत्माको शान्तिको लागि दिप प्रज्ज्वलन गरिएको थियो ।

बिरोध कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समिति सचिवालय सदस्य ललित घलान, नेकपा (माओवादी केन्द्र) हेटौंडा–९ वडा कमिटी अध्यक्ष रामचन्द्र नेपाल, अखिल (क्रान्तिकारी) बमकवानपुर सचिव छोइसाङ लामा, कोषाध्यक्ष अनिल बसेललगायत पदाधिकारहरु र मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*