मकवानपुरमा फागुन पहिलो साता सातौं वागमती गोल्डकप

मकवानपुरको पूर्वीक्षेत्रमा हुने सातौ संस्करणको वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता-२०८१ आगामी फागुनको पहिलो हप्ताबाट सुरु हुने भएको छ । वाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगिता वाग्मती–४, झुरझुरेस्थित पालिकाको लगानीमा निर्मित सहिद स्मृति रंगशालामा हुनेछ । यसअघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो ।
प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । वाग्मती गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष रहरसिंह थिङका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहनेछ । प्रतियोगिता सञ्चालको लागि ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने हुने अनुमान आयोजकले गरेको छ ।
‘हामीले प्रतियोगिताको तयारी अगाडि बढाइसकेका छौं । मैदानको स्तरोन्नतिको काम भइरहेको छ । नयाँ रंगशालामा पहिलो पटक राष्ट्रियस्तरको खेल हुनेहुँदा यसवर्ष हामी थप खुसी भएका छौं,’ समितिका अध्यक्ष थिङले भने ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ द म्याचलाई दश हजार रुपैयाँसहित उपहार प्रदान गरिने खेलकुद विकास समिति सदस्य सचिव प्रमोद राइले बताए ।
फुटबल खेलको प्रवर्द्धनका लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सञ्चालनको तयारी गरिरहेको पत्रकार सम्मेलनमा वाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए । यसअघिको छैटौं संस्करणको उपाधि मच्छिन्द्र युथ क्लब काठमाडौंले जितेको थियो ।