मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

बाइलाइन नेपाल
२१ कार्तिक २०८१, बुधबार ०७:३६

मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । सामा चकेवा पर्व कार्तिक शुल्क पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछ भने ११औँ दिन पूर्णिमाका दिनमा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुने जलेश्वर नगरपालिका–८ का पण्डित अनिल पाठकले बताए ।

आजदेखि १० दिनसम्म मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारी तथा महिलाले दाजुभाइको दीर्घायुको कामना गर्दै मिथिलाको प्रत्येक गाउँटोलको चौबाटो, दोबाटो र सार्वजनिक स्थानमा सामा चकेवा खेल्ने छन् ।

आज बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भीरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याएका छन् ।

सामा चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रंगहरु भरेर सामा चकेवा रंगीचंगी बनाइन्छ । रंगीन सामा चकेवालाई राति रातो रंगको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कूल, धर्मशाला, मन्दिर र छठघाटमा लगेर १० दिनसम्म गीत, नाच गर्दै दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्ने चलन रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव राय बताउँछन् ।

समूहगत रुपमा चेलीबेटी तथा छोरीबुहारीहरु ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चंपा फूल लगाइदिय’ ‘सामचको सामचको अइहा हो, अइहा हो, गुँढ खेतमे भसिया हो’लगायत गीत गाएर सामा चकेवा खेल्ने गर्छन् ।

दिदीबहिनीले ११औँ दिनमा बिहानै सामा चकेवाहरुलाई पुनः बनाउने रंगरोगन गर्ने दिनभरि सुकाएर बेलुका सामा चकेवालाई दही चिउरा खुवाएर सोही सामा चकेवाबाट दाजुभाइको फार भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाउँछन् ।

त्यसपछि सामा चकेवालाई बाजागाजा, गीतनादका साथ दिदीबहिनीहरुले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गरेपछि पर्वको समापन हुने जलेश्वर नगरपालिका–१ मा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पूजारी उपेन्द्र पाठकले बताए ।

सामा चकेवा पर्व खेल्नाले दाजुभाइको सुस्वास्थ्य रहने, आयु लामो हुने र आर्थिक रुपमा समृद्धि हुने तथा दिदीबहिनीहरुप्रतिको सम्बन्ध प्रगाढ हुने जन विश्वास छ ।

सोही अनुरुप मिथिलाञ्चलको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्ला सीतामढी, पटना, दरभंगा, मुजफ्फरपुर, मधुबनीलगायतमा यो पर्व लोकप्रिय छ ।

मिथिलाञ्चलमा छठ पर्वको सध्याकालीन अर्घ दिनुभन्दा एकदिन पूर्व (आज)देखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गरेको जलेश्वर–६ की ३० वर्षीया महिला विनिता देवीले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*