एकबर्ष भित्र देशलाई पूर्ण विद्युतिकरणको घोषणा : प्रधानमन्त्री प्रचण्ड

राजकुमार केसी
१ असार २०८१, शुक्रबार २१:०६

मकवानपुर/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी एक बर्षभित्र देशलाई पुर्ण विद्युतिकरणको घोषणा गर्ने तयारी रहेको बताएका छन् ।

शुक्रबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. ११ थानाभ¥याङमा निर्मित ४०० के.भी. विद्युत प्रसारण लाइन अन्तरगतको सबस्टेसनलाई उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैकल्पिक उर्जासहित ९९ प्रतिशत नेपाली जनतामा विद्युतको पहुँच पुगेकोले अबको एक बर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरणको तयारीमा सरकार रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले विद्युतको पहँुच मात्र नभई आन्तरिक रुपमा विद्युतको खपत बढाउन भरपर्दो र सुरक्षित सेवा प्रवाह गर्न उच्च प्राथमिकताका साथ काम गर्न विद्युत प्राधिकरण र उर्जा मन्त्रालयलाई निर्देशन दिए । विद्युत व्यापारको योजना अनुसार भारत, चीन र बंगलादेशसम्म पु¥याउने आधार तयार रहेको र ४० मेगावाट विद्युत भारत हुँदै बंगलादेशतर्फ निर्यात हुने बताए । हेटौंडा सबस्टेसनलाई ढल्केवर सबस्टेसनसम्म जोड्ने ४०० के.भी. लाइन प्रसारणमा अवरोध रहेकाले बाधक नबन्न स्थानीयलाई प्रधानमन्त्रीले अनुरोध गरेका छन् ।

सरकार प्रसारण लाइन र वितरण लाइनतर्फ मात्र होइन उत्पादन तर्फ देशको विकासलाई नै रुपान्तरण गर्न सक्ने १०६१ मेघावाटको अपर अरुण र ६३५ मेघावाटको दूधकोसी जलविद्युत आयोजनामा लगानी छुट्याएर कार्यन्वयनमा जान अगाडि बढिसकेको छ । १२०० मेघावाटको बुढीगण्डकी जलासय युक्त जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन गरी निर्माण अगाडि बढेको उल्लेख गर्दै यी आयोजनाहरु नेपालको समृद्धि यात्रामा रणनीतिक महत्वका आयोजना भएको प्रधानमन्त्रीले बताए ।

हेटौंडामा ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० के.भी. सवस्टेशन निर्माण सम्पन्न गरी शुक्रवारदेखि सञ्चालनमा आइसकेको छ । यसैगरी नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभ¥याङमा नै २२० र १३२/११ केभी क्षमताका सवस्टेशन निर्माण सम्पन्न गरी गएको शुक्रवारदेखि नै चार्ज गरिएका छन् । जीआईएस प्रविधियुक्त स्वचालित ढल्केबर देशकै पहिलो, इनरुवा दोस्रो र हेटौँडा तेस्रो ठूलो सवस्टेशन हो ।

हेटौँडा सवस्टेशनको निर्माण सम्पन्न भएसँगै झन्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार संरचना तयार भएको छ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० के.भी. प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रूपमा बिजुली आपूर्ति थप सुदृढ हुने र भारतसँगको बिजुली व्यापार थप विस्तार हुनेछ ।

राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी सवस्टेशन विस्तार आयोजना शुरु गरिएको थियो । यो आयोजनाअन्तर्गतका तीन वटै सबस्टेशन निर्माण सम्पन्न भएका छन् ।

सरकार तथा प्राधिकरणको लगानी र विश्वबैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माण गरिएको २२०/१३२/११ केभी हेटौँडा सबस्टेसन निर्माणका लागि २०१८ डिसेम्बरमा ठेक्का सम्झौता भएको थियो । ४००, २२० र १३२ केभी हेटौँडा सबस्टेसनको अनुमानित लागत तीन अर्ब रहेको थियो । आयोजनाको प्राविधिक कार्य नेपाली ईञ्जिनियरहरुबाट भएको थियो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अध्यक्षतामा हेटौंडामा भएको सबस्टेसन उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उर्जा तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेत, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रतिनिधिसभा सदस्य महेश बर्तौला, दीपकबहादुर सिंह, बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, ईन्द्रबहादुर बानियाँ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*