मकवानपुरका वृद्धवृद्धाले अब पालिकामै परिचयपत्र पाउने

राजकुमार केसी
३० जेष्ठ २०८१, बुधबार २०:१०

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सामाजिक सुरक्षा प्राप्त गर्ने वृद्धवृद्धा र अपांगता भएका लाभग्राही लक्षित राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर संचालन गर्ने भएको छ ।

कार्यालयले जिल्लामा रहेका ९ ओटा गाउँपालिकासँगको समन्वयमा उक्त पालिकाको केन्द्रमा बुधबारदेखि टोली खटाएर शिविर सञ्चालनमा ल्याएउन लागेको हो ।

मकवानपुर जिल्लाको ९ वटा पालिकाको केन्द्रमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ताको लागि टोली खटाइएको छ भने हेटौंडा उपमहानगरपालिकाभित्र रहेको सामाजिक सुरक्षा भत्ताको लाभग्राहीहरुले जिल्ला प्रशासन कार्यालयमा नै विवरण दर्ता गराउन सक्ने बताईएको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन जिल्ला प्रशासन कार्यालयमा वृद्धवृद्धा र अपांगता भएकाहरु भीड लाग्न थालेपछि प्रशासन कार्यालयले सेवाग्राहीको सहजताका लागि पालिकाको केन्द्रमा परिचयपत्रको विवरण दर्ता गर्ने टोली खटाउने निर्णय गरेको हो ।

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/२०८२ देखि सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउनेको भीड बढेको थियो । राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन विशेषतस् ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुले सास्ती पाएका थिए । शारीरिक रुपमा अशक्त बनिसकेका ज्येष्ठ नागरिकले परिचयपत्रको लागि विवरण दर्ता गराउन दिनभर लाइन बस्नुपर्दा कष्ट भोगेका थिए ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउनको लागि जिल्लाका दुर्गम क्षेत्रका वृद्धवृद्धाहरु लठ्ठीको सहारामा र अपांगता भएका ब्यक्तिहरुले कार्यालय आउँदा निकै कष्ट ब्यहोर्नु परेकोले उक्त विवरण दर्ताकोलागि पालिकाको केन्द्रमा नै टोली पठाउन लागेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।

प्रशासन कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण दर्ताको लागि २ वटा टोली खटाईएको छ । पहिलो टोलीले जेठ ३० गतेदेखि असार १ गतेसम्म राक्सिराङ गाउँपालिकामा, असार ३ गतेदेखि ६ गतेसम्म कैलाश गाउँपालिकामा, असार ८ गतेदेखि १३ गतेसम्म थाहा नगरपालिकामा, असार १५ गतेदेखि १८ गतेसम्म इन्द्रसरोवर गाउँपालिकामा विवरण दर्ता गर्नेछन् ।

त्यस्तै दोस्रो टोलीले जेठ ३१ गतेदेखि असार २ गतेसम्म वागमती गाउँपालिकामा, असार ४ गतेदेखि ७ गतेसम्म बकैया गाउँपालिकामा, असार ९ गतेदेखि १२ गतेसम्म मकवानपुरगढी गाउँपालिकामा, असार १४ गतेदेखि १७ गतेसम्म भीमफेदी गाउँपलिकामा, असार १९ गतेदेखि २२ गतेसम्म मनहरी गाउँपालिकामा विवरण दर्ता गर्नेछन् ।

नागरिकले राज्यबाट सेवासुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग अनिवार्य गर्दै जाने सरकारले रणनीति अघि सारेको छ । राष्ट्रिय परिचयपत्रमा उल्लेखित नम्बरका आधारमा नागरिकले पाउने सेवासुविधासहित व्यक्तिको आर्थिक र व्यापारिक कारोबारको सबै विवरण हेर्न सकिने सफ्टवेयरको परीक्षण भइरहेको छ ।

आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता र पेन्सनको नवीकरण बायोमेट्रिक भेरिफिकेसनमार्फत गर्ने प्रणाली लागू गर्ने निर्णय भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले बताए ।

हाल देशभर ३८ लाख ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् । पेन्सनबापत भने बर्सेनि करिब ७७ अर्ब खर्च हुने गरेको परिचयपत्र विभाागले जनाएको छ । परिचयपत्र अनिवार्य गरेपछि एउटै व्यक्तिले दोहोरो सुविधा लिन खोजे प्रणालीले नै रोक्ने सफ्टवेयर निर्माण गरिएको छ । पेन्सन र सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकका लागि पनि परिचयपत्रले सजिलो बनाउने विभागले जनाएको छ ।

कुनै पनि नागरिकले राष्ट्रिय परिचयपत्र साथमा बोकेपछि अन्य परिचयपत्र नचाहिने व्यवस्था गर्न लागिएको महानिर्देशक कट्टेलले बताए ।
व्यक्तिगत जीवनमा आइपर्ने सबै क्षेत्रमा राष्ट्रिय परिचयपत्रलाई उपयोग गर्ने गरी रणनीति बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाइएको प्रमुख जिल्ला अधिकारी चिलुवालले बताए ।

पालिकाको केन्द्रमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सामाजिक सुरक्षा भत्ताको लाभग्राहीलाई केन्द्रित गरि संचालन गरिएको र अन्य ब्यक्तिका हकमा जिल्ला प्रशासन कार्यालयबाट नियमित राष्ट्रिय परिचयपत्रको विवरण दर्ता हुने प्रशासकीय अधिकृत सरोज पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*