नेसपाले मकवानपुरमा मनायो स्थापना दिवस

बाइलाइन नेपाल
३० जेष्ठ २०८१, बुधबार १९:५४

हेटौंडा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मकवानपुरले पार्टीको आठौं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ । पार्टी मकवानपुरले बुधबार रक्तदान कार्यक्रमका साथ पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको हो ।

हेटौंडा–४ स्थित हुप्रचौरमा रहेको जिल्ला पार्टी कार्यालयमा भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । पार्टी मकवानपुरका संयोजक रमेश उप्रेती (तेज)को अध्यक्षतामा रक्तदान कार्यक्रम भएको हो ।

यस्तै पार्टीले बुधबार नै स्थापना दिवसको अवसरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

पत्रकार भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य राजेन्द्र सिंखडाले नयाँ शक्ति पार्टीको रुपमा आठ वर्षअघि स्थापना भएर आजसम्म आइपुग्दाको अवस्थाको समीक्षा प्रस्तुत गरे । विभिन्न पार्टीबीच एकता र फुटसँगै पार्टी आजको अवस्थासम्म आएको स्मरण गरे ।

उनले पार्टीको भावी रणनीति र आगामी योजनाबारे उल्लेख गर्दै पाँच ‘स’ लाई मुख्य आधार बनाई मुलुकमा प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्नु आफूहरुको मुख्य मुद्दा भएको बताए । पार्टीले संगठन विस्तारलगायत जिल्ला अधिवेशन हुँदै आगामी माघसम्ममा केन्द्रीय महाधिवेशन गर्ने लक्ष्यका साथ अघि बढेको उनले सुनाए ।

पार्टी मकवानपुरका संयोजक रमेश उप्रेती (तेज) को अध्यक्षतामा भएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पार्टी मकवानपुर ईन्चार्ज इजाहर आलम, पार्टीका नेताहरु हरिहर खतिवडा, सुदिप कार्कीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीको इतिहास र भविष्यका योजनाका बारेमा पत्रकारहरुलाई जानकारी दिइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*