बागमतीमा भागबण्डा मिलाउन मन्त्रालय फुटाईयो

हेटौंडा । बागमती प्रदेशमा सरकार टिकाउन र भागबण्डा मिलउन मन्त्रालय फुटाईएको छ । ११ मन्त्रालयबाट नथप्ने बताएका वर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सत्ता टिकाउन मन्त्रालयको संख्या १३ बनाएका छन् ।
सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय आज बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालय नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानले सम्हाल्दै आएकी छन् ।
गत १९ चैतमा विनाविभागीय मन्त्री नियुक्त भएकी नेकपा (एकीकृत समाजवादी) की रमा आले मगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
बागमतीमा अब १३ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउन मगरलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । विश्वासको मतका लागि एक सांसदको समर्थन आवश्यक भएको अवस्थामा मन्त्री मगर प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि उनलाई मन्त्रीमा नियुक्त गरिएको थियो ।
जम्कट्टेलले डेढ वर्षको कार्यकालमा दुई पटक मन्त्रालय विभाजन गरे । यसअघि नेपाली कांग्रेस, एकीकृत समाजवादीसहितको सरकारमा कांग्रेसबाट रामकृष्ण चित्रकारलाई जिम्मेवारी दिन मन्त्रालय विभाजन गरेका थिए ।
७ जेठ २०७९ मा मन्त्रिपरिषद विस्तार गर्दा चित्रकारलाई विनाविभागीय मन्त्री बनाइएको थियो । ५ भदौमा उनलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्यतिबेला पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर थपिएको उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा चित्रकारलाई दिइएको थियो ।
मुख्यमन्त्री जम्कट्टेलले १० माघ २०७९ मा मन्त्रालय संख्या घटाएर ११ वटा कायम गरेका थिए । त्यसअघिको १४ वटा मन्त्रालय रहेकामा कम बजेट भएका र प्रभावकारी काम नदेखिएका ३ वटा मन्त्रालय कटौती गरिएको थियो ।
प्रदेश सरकार स्थापना भएको साढे ६ वर्षमा चार पटक मन्त्रालय विभाजन भएका छन् । चारै पटक मन्त्रालय फुटाउने र जुटाउने कार्यमा गठबन्धन टिकाउनु प्रमुख कारण बनेको छ । २०७४ मा प्रदेश स्थापना भएपछि पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले ७ वटा मन्त्रालय बनाएका थिए ।