थाहामा छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य
हेटौंडा । मकवानपुरको एक स्थानीय तहको वडा कार्यालयले सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउनु पर्ने निर्णय गरेको छ ।
मकवानपुरको थाहा नगरपालिकामा वडा नं. २ ले वडाका जनप्रतिनिधि तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले आफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको वडा अध्यक्ष एवम् वडा शिक्षा समितिको अध्यक्ष बमबहादुर सिन्तानको अध्यक्षतामा बसेको बैठकले आगामी शैक्षिक सत्रदेखि वडाका जनप्रतिनिधि तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले आफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।
सामुदायिक विद्यालयको खस्कदै गएकोले शैक्षिक गुणस्तर सुधार्नकालागि वडा शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको अध्यक्ष सिन्तानले बताए । साथै बैठकले अन्य सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई पनि आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
संघीय शिक्षा ऐन र थाहा नगर शिक्षा ऐनमा वडा शिक्षा समितिमा वडा अध्यक्ष संयोजक, वडा सदस्य १ जना, वडाकोे उच्चतम विद्यालयका प्रधानाध्यापक १ जना, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु मध्येबाट १ जना, शिक्षाप्रेमीहरु मध्येबाट २ जना र वडा सचिव सदस्य सचिव सहित ७ सदस्य रहने प्रावधान रहेको छ ।
वडा नंं. २ को शिक्षा समितिमा वडा अध्यक्ष बमबहादुर सिन्तान, वडा सदस्य युवराज विष्ट, मत्स्यनारायण माविका प्रधानाध्यापक विष्णुहरि ढकाल, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मध्येबाट वीरबहादुर तामाङ, शिक्षाप्रेमी दीपेन्द्रराज प्रधान, जानुका ढकाल र सदस्य सचिव दिनेश महर्जन रहेका छन्।

बाइलाइन नेपाल











