मुख्यमन्त्री जम्कट्टेलले प्राप्त गरे विश्वासको मत

बाइलाइन नेपाल
१९ चैत्र २०८०, सोमबार १८:३०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि प्रदेश सरकारका मुख्यमन्त्रीहरुले पनि फेरि विश्वासको मत लिनु पर्ने अवस्था आएको हो ।

सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका हुन् ।

विपक्षमा ३७ मत खसेको छ भने १५ जना तटस्थ बसेका छन्। नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको छ भने राप्रपा तटस्थ रहेको छ ।

२५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले सोमबार तेस्रो पटक विश्वासको मत लिएका हुन् । पहिलो पटक ३ माघ २०७९ मा विश्वासको मत लिंदा उनलाई प्रदेशसभाका ६ दलको समर्थन थियो । उनले ११० मध्ये १०५ जना सांसदको समर्थन पाएका थिए । त्यतिबेला उनलाई नेपाल मजदुर किसान पार्टीका ३ जना सांसदले मत दिएका थिएनन् भने एक जना अनुपस्थित थिए ।

तर नेकपा एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक १० चैत २०७९ मा विश्वासको मत लिएका थिए ।

त्यतिबेला उनलाई प्रदेशसभाका ६७ जनाले समर्थन गरेका थिए । मुख्यमन्त्री जम्कट्टेललाई उनको दल माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एस र हाम्रो नेपाली पार्टीले मत दिएको थियो । विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले मत दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*