बागमतीमा ४ दलबीच ५ बुँदे सहमति
हेटौंडा । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएको हो ।
चार दलबीच प्रदेशसभाको बाँकी कार्यकालका लागि सहकार्य गरी राजनीतिक स्थायित्व दिने गरी सरकार निर्माण गर्ने सहमति भएको छ । त्यस्तै सरकारको नेतृत्वमा सत्ता गठबन्धनका दलहरुबीच सहकार्य गर्ने सहमति पनि भएको छ ।
सरकार सञ्चालनका लागि प्रदेशस्तरीय संयन्त्र बनाउने र साझा न्यूनतम नीति कार्यक्रम बनाउने पनि दलहरुबीच सहमति छ । त्यस्तै दलहरुबीच सहमतिका आधारमा मन्त्रिपरिषदको संख्या निर्धारण र मन्त्रालयको जिम्मेवारी विभाजन गर्ने निर्णय पनि भएको छ ।
सहमतिपत्रमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्यले हस्ताक्षर गरेका छन् ।
चार दलबीचको सहमतिपछि बागमतीमा शालिकराम जम्कट्टेल नेतृत्वको प्रदेश सरकारलाई बहुमत पुगेको छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा बहुमत पुर्याउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेको २७, माओवादीको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ गरी ५७ सांसद पुग्छन् ।