वर्षाले जनजीवन प्रभावित, अझै तीन दिन पानी पर्ने

बाइलाइन नेपाल
१० चैत्र २०८०, शनिबार ०९:४२

बागमती प्रदेशको राजधानी हेटौंडासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ । काठमाडौंमा मध्यराति पौने १२ बजेदेखि सुरू भएको वर्षा केहीबेर रोकिएर बिहानीपख पुनः सुरू भएको मौसमविद् गोविन्द झाले जानकारी दिएका छन्।

उनका अनुसार काठमाडौं उपत्यकासहित सुनसरी, मोरङ, पाँचथर, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, तनहुँ, गोरखा र स्याङ्जाका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

पछिल्लो १२ घन्टामा कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षा मापन भएको छ। साथै पश्चिमी भूभागहरूमा पनि वर्षा भएको मौसमविद झाले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाले अद्यावधिक गरेको विवरण अनुसार पछिल्लो १२ घन्टामा गोरखाको बिरेनचोकमा ८८.८ मिलिमिटर वर्षा मापन भएको छ भने लमजुङको कुन्छामा ४६.४ मिलिमिटर वर्षा भएको छ।

झापाको चन्द्रगढीमा १८.४, पाँचथरको फिदिममा २१.२, मोरङको लेटाङमा ८.६ मिलिमिटर, सुनसरीको धरानमा २९.२ मिलिमिटर, चतारामा २५. ८ मिलिमिटर, ताप्लेजुङमा ७.८ मिलिमिटर, सिन्धुलीमा ७.६ मिलिमिटर, दोलखामा ६.६ मिलिमिटर, मकवानपुरको चिसापानीगढीमा ३२.६ मिलिमिटर, धादिङको गजुरीमा २०.४ मिलिमिटर, काठमाडौंको कीर्तीपुरमा १० मिलिमिटर, गोरखाको आरूघाटमा १९.६ मिलिमिटर, तनहुँको बन्दीपुर २४ मिलिमिटर,कालीकोटको मान्ममा ८.६ मिलिमिटर, विजयपुरमा २१.४ मिलिमिटर, जुम्लामा १० मिलिमिटर, मुगुको ताल्चामा १६.५ मिलिमिटर वर्षा मापन भएको छ।

मौसमविद झाका अनुसार आगामी तीन दिनसम्म कोशी बागमती र गण्डकी प्रदेशमा राम्रै पानी पर्ने सम्भावना छ ‘लगातार झरी पर्ने होइन, रोकिने पर्ने भइरहन्छ,’ उनले भने।

आज दिउँसो पनि कोशी, गण्डकी र बागमतीका विभिन्न स्थानहरूमा पानी पर्ने सम्भावना छ। काठमाडौंमा पनि दिउँसो पानी पर्ने सम्भावना देखिएको उनले बताए। पूर्वका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि रहेको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*