हेटौंडाको ‘२५ मिटरको विकल्पमा’ फेरि ३ करोड लगानी
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको चौकिटोलदेखि चुरीयामाइ सम्मको बाइपास सडक निर्माणको काममा थप ३ करोड रुपैयाँ लगानी गरिदै छ । चालु आर्थिक वर्षमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय चितवनले यस सडकका लागि थप लगानी गर्ने भएको हो ।
रापती खोलामा तटबन्धनको कामसंगै बाइपास सडक निर्माण गर्नका लागि ३ करोड लागतमा चालु आर्थिक वर्षमा काम गर्न लागिएको पूर्वाधार विकास कार्यालय चितवनले जनाएको छ । प्रदेश सरकारले हरेक वर्षजसो बाइपास सडक निर्माण गर्नका लागि लगानी गर्दै आएको छ ।
हेटौंडाको बाइपास सडक अन्तरगत चाइनाक्वाटर क्षेत्रमा भने हरेक वर्ष गरिएको लगानी खोलाले बगाउने गरेको स्थानीय वासिन्दाहरुले वताएका छन् । संघीय सरकार र प्रदेश सरकारले बाइपास सडक निर्माण गर्नका लागि रकम खन्याउँदै आएपनि त्यसबाट खासै काम देखिन सकेको छैन ।
हेटौंडाको मुख्य बजार क्षेत्र हुँदै गएको पूर्व–पश्चिम राजमार्ग फराकिलो पार्ने संघीय सरकारको निर्णय अनुसार काम सुरु गर्ने तयारी गरे लगत्तै प्रदेश सरकारले बाइपास सडक निर्माणको योजना अघि बढायो । तर राजनीतिक दलका स्थानीय नेताहरुको स्वार्थका कारण दुवै योजनाले अपेक्षाअनुसारको गति प्राप्त गर्न सकेका छैनन् ।
महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत पर्ने सडक विस्तार गरी दायाँबायाँ २५/२५ मिटर कायम गर्ने सरकारको निर्णयपछि हेटौंडाको मुख्य बजारबाट राजमार्गलाई डाइभर्ट गरी रातोमाटेदेखि राप्ती पुल र राप्तीपुलदेखि चौकीटोलसम्मको सडकलाई बाइपासको रुपमा प्रयोग गर्ने योजना बनाइएको थियो । उक्त योजना बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले अघि सारेका थिए । स्मरणीय छ, सडक विस्तार गर्दा बजार क्षेत्रमा रहेको उनको घर पनि २५ मिटरको दायराभित्र पर्दछ ।
प्रदेश सरकारले सो सडक निर्माणका लागि कुल ३५ करोड रुपैयाँ लागत अनुमान गरेको छ । उक्त सडकमा हालसम्म प्रदेश सरकारले १३ करोड २४ लाख १५ हजार रुपैयाँ खर्च गरिसकेको छ ।
बाइपास सडकलाई पूर्वपश्चिम राजमार्गको वीरगञ्ज–हेटौंडा खण्डमा जोड्ने लक्ष्यका साथ दक्षिण तर्फको राप्ती पुलबाट रातोमाटेसम्मको निर्माण कार्य एलिट कन्ट्रक्सन कम्पनीले गरिरहेको छ । एलिट कन्ट्रक्सन कम्पनीले कुल ८ करोड ३ लाख ८९ हजार रुपैयाँमा ठेक्का प्राप्त गरेको थियो । पूर्वाधार विकास कार्यालय चितवनका अनुसार निर्माण कार्य गरेबापत कम्पनीले हालसम्म ८ करोड १४ लाख ५९ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ ।
ठेक्का सम्झौता अनुसार कम्पनीले सो खण्डको १ दशमलव ७ किलोमिटर सडक १ वर्षमा सम्पन्न गर्नुपर्ने थियो । तर, सो अवधिमा काम हुन नसकेपछि पटकपटक म्याद थपिँदै आएको छ । हाल उक्त खण्डको निर्माण कार्य ९० प्रतिशत पूरा भइसकेको जनाइएको छ । बाँकी १० प्रतिशत कार्य आगामी केही दिनमै सक्ने गरी काम गरिरहेको निर्माण कम्पनीको भनाइ छ ।

बाइलाइन नेपाल











