अग्रज साहित्यकार तुल्सी थापाको निधन

बाइलाइन नेपाल
८ भाद्र २०८०, शुक्रबार १३:१५

हेटौंडा । मकवानपुरका अग्रज साहित्यकार, शिक्षा तथा भाषाविद् तुल्सी थापाको निधन भएको छ । उनको चितवनको सिएमएस पुरानो मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ७८ वर्षको उमेरमा निधन भएको हो ।

साहित्यसँगै शिक्षा र भाषामा समेत विशेष ज्ञान भएका थापा लामो समयदेखि मधुुमेह, उच्चरक्तचाप, निमोनियालगायतका रोगबाट पीडित रहेका थिए । उनको पार्थिव शरिरलाई आजै हेटौंडा ल्याएर अन्तिम संस्कार गर्ने परिवारस्रोतले जनाएको छ । लामो समय शिक्षण पेशामा रहेका थापाले शिक्षा, साहित्य र भाषका क्षेत्रमा मकवानपुरमा विशेष योगदान पुुर्याएका छन् । उनले चेपाङ समुदायको क्षेत्रमा पनि काम गरेका थिए ।

कथा, कविता तथा नाटकमा कलम चलाउने साहित्यकार थापा ”दाना कविता” को प्रणेता पनि हुन् । दाना कवितालाई उनले साहित्यको नयाँ विधाको रुपमा स्थापित गरिरहेका थिए । । उनको एक निमेष अनन्तको–२०५८ मसिना कविताहरू, अमरसिंहको खोजीमा अमरसिंह–२०६१ नाटक, फरक आकाश–२०७२ कथासङ्ग्रहलगायत प्रकाशित छन् । थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४), नारायणी वाङ्‌मय पुरस्कार (२०५८) सहित विभिन्न सम्मानबाट सम्मानित भएका थिए ।

भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्व अध्यक्ष तथा साहित्य संगम मकवानपुरका सल्लाहाकार रहेका थिए । थापाको निधनले मकवानपुरले एक इमान्दार र स्वभिमानी साहित्यकार र शिक्षाविद्लाई गुुमाएको छ ।

बाईलाईन नेपालडटकम परिवार साहित्यकार थापाको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*