थाहाले दूधमा अनुदान दिन थालेपछि कृषक उत्साहित
हेटौंडा । थाहा नगरपालिकाले व्यवसायीक रुपमा दूध बिक्री गर्ने कृषकहरुलाई प्रोत्सहान अनुदान वितरण गर्न थालेपछि व्यवसायीक रुपमा पशुपालन गर्ने कृषकहरु उत्साहित भएका छन् । थाहा नगरपालिकाले चालुआर्थिक वर्षमा पनि दूध बिक्रीको आधारमा कृषकहरुलाई प्रोत्सान अनुदान वितरण गरेको छ ।
यसबर्ष दूध उत्पादनका आधारमा २ सय ९९ सय जना कृषकलाई ८ लाख ४ हजार ४ सय २२ रुपैयाँ अनुदान उपलब्ध गराइएको जनाइएको
छ । उक्त रकम थाहा नगरपालिकामा सञ्चालित एक सहकारी र डेरीहरुमार्फत् वितरण गरिएको थाहा नगरपालिका पशु विकास शाखाका प्राविधिक रुपेशकुमार मिश्रले जानकारी दिए ।
नवदुर्गा ट्रेडर्स थाहा– ३ द्वारा सञ्चालित कृषक डेरीमार्फत् दूध बिक्री गर्ने ३३ जना कृषकहरुले ९१ हजार ६३ लिटर दूध बिक्रीको परिमाणका आधारमा १ लाख ५६ हजार ९ सय ७० रुपैंया वितरण गरिएको छ ।
त्यस्तै नन्दकिश्वर डेरी प्रालि थाहा– ६ मार्फत ८५ जना कृषकहरुले १ लाख ३ हजार ४ सय ५८ लिटर दूूध बिक्री गरेबापत परिमाणका आधारमा १ लाख ७८ हजार ३ सय ३६ रुपैंया, देवदर्शन निष्ठा डेरी उद्योग थाहा–३ मार्फत १ सय ५३ जना कृषकहरुले २ लाख २६ हजार ४ सय ९२ लिटर दूूध बिक्री गरे बापत ३ लाख ९० हजार ४ सय १७ रुपैंया र सुन्तलाबारी कृषि सहकारी संस्था लि थाहा १२ मार्फत २८ जना कृषकहरुले २७ हजार ५९ लिटर दूूध बिक्री गरेबापत ६६ हजार ६ सय ३३ रुपैंया बितरण गरिएको थाहा नगरपालिका पशु विकास शाखाले जनाएको छ ।
पशु विकास शाखाको अनुसार गाईको दूधमा प्रतिलिटर १ रुपैंया ७५ पैसाको दरले र भैंसीको दूधमा प्रतिलिटर २ रुपैंया ५० पैसाको दरले प्रोत्साहन अनुदान वितरण गरिएको जनाइएको छ ।
बिहीबार र शुक्रबार नगरपालिकाको पशु विकास शाखामार्फत् चालु आर्थिक वर्ष २०७९÷०८० मा पालिकाभित्रका तीन डेरी र एक सहकारीमार्फत् किसानलाई अनुदान बापतको रकम वितरण गरेको थियो ।
यसैगरी अनुसार उत्कृष्ट दुग्ध उत्पादन गर्ने तीन जना जना कृषकहरुलाई नगद सहित सम्मानित गरिएको छ। सम्मानित हुनेहरुमा थाहा–२ का माधव कार्की, थाहा– १२ का भीमबहादुर गोले र थाहा–६ की पार्वती ढुङ्गाना रहेका छन् ।
त्यस्तै ४ वटा पशुपालन फर्मलाई नगद सहित सम्मानित गरिएको पशु विकास शाखाका प्रविधिक मिश्रले बताए । सम्मानित हुने फर्महरुमा लामिछाने गाई तथा कृषि फार्म, थाहा–१, डाँडाघरे बा को कृषि तथा पशुपन्छी फार्म, थाहा–२, मंजिल कृषि तथा पशुपन्छी फार्म, थाहा– ३ र पीपी कृषि तथा पशुपालन फार्म, थाहा– ६ रहेका छन् ।
पशुपालनलाई प्रोत्सहान गरी किसानमार्फत् दूध संकलन गर्ने चार वटै डेरीलाई पनि प्रोत्साहन बापत नगद सहित सम्मान गरिएको पशु विकास शाखाले जनाएको छ। थाहा नगरपालिकाले बिगत चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ।
थाहा नगरपालिकाले समूह, सहकारी, फर्म, डेरीमार्फत् दधूू बिक्री गर्ने कृषकहरुलाई बर्ष भरिको परिमाणका आधारमा अनुदान दिन थालेपछि गाईभैंसी पालन गरी दूूध बेच्ने कृषकको संख्यामा समेत वृद्धि भएको प्राविधिक मिश्रले बताए ।
नियमित रुपमा डेरीमार्फत् दूूध बिक्री गर्ने कृषकहरुले बिक्री गरेको दूधको परिमाणका आधारमा प्राप्त अनुदान रकम वितरण गरिएको नवदुर्गा ट्रेडर्स थाहा– ३ द्वारा सञ्चालित कृषक डेरीका सञ्चालक युवराज बर्तौलाले बताए ।
थाहा नगरपालिकाको प्रमुख विष्णुबहादुर विष्टले प्रोत्सहान अनुदानबाट किसानलाई पशुपालनमा आकर्षण गरी स्वरोजगारमा प्रेरित गर्न सहयोग पुग्ने बताए । थाहा नगरपालिकाको दूध र मासुमा आत्मनिर्भर बन्ने नीति अनुरुप गाई भैंसी पकेट क्षेत्र समेत बिस्तार गर्ने कार्यक्रम निरन्तर रहेको नगरप्रमुख विष्टले जानकारी दिए ।
कृषकहरुलाई उत्पादनमा आधारित रहेर प्रोत्साहन गर्दा कृषकहरुलाई व्यवसायीक बन्न प्रेरणा मिलेको युवा कृषक माधव कार्कीले बताए । कार्कीले अनुदानलाई निरन्तरता दिन र गाई भैंसी खरिद गर्नकालागि समेत अनुदान उपलब्ध गराउन सके युवाहरुलाई पशुपालनमा आकर्षित गरी स्वरोजगार सृजना गर्न सकिने बताए ।
थाहा नगरपालिकाको विभिन्न वडाहरुमा समूह, सहकारी, फर्म, डेरीमार्फत् दूध बिक्री गर्दा प्रोत्सहान बापत रकम आउन थालेपछि थाहा नगरका कृषकहरु व्प्यवसायीक पशुपालन तर्फ आकर्षित हुन थालेका छन् ।

राजकुमार केसी











