हेटौंडा अस्पतालको सेवा मापदण्ड मापनमा ९ अंकले सुधार

बाइलाइन नेपाल
२१ असार २०८०, बिहीबार २०:१८

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिषनद्वारा संचालित हेटौंडा अस्पतालको न्युनतम सेवा मापदण्ड मापनमा बिगतमा भन्दा सुधार रहेको पाइएको छ । बिगतका वर्षहरुमा पाएको अंक भन्दा चालु आर्थिक वर्षमा झनै सुधार रहेको पाइएको छ । हेटौंडा अस्पतालले न्युनतम सेवा मापदण्ड मापनमा एक सय पुर्णाङकमा ८९ प्रतिशत अंक ल्याएको छ।

स्वास्थ्य निर्देशनालय हेटौंडाले आज अस्पतालको सभाहलमा अस्पतालले पाएको अंक सार्वजनिक गरेको हो । प्रदेशनालयले बनाएको मापदण्ड अनुसार अस्पतालले चालू आव ०७९–८० मा ८९ प्रतिशत अंक ल्याएको हो ।

हेटौंडा अस्पताल पुरानो भवनबाट नयाँ भवनमा उपचार सेवा सुरु गरेपछी सहज भएको आज सेवाग्राहीहरुले महसुस गरेका छन् । विरामीको चाप पनि निकै बढेको छ । बिरामीको चाप अनुसार पूर्वाधारका सेवा पनि विस्तार गर्दै चालु आर्थिक वर्षमा डाक्टर लगायतका जनसक्ति पनि थप गरिएको छ । अस्पतालले गत आर्थिक वर्षमामा ८० प्रतिशत अंक ल्याएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर किशोर बन्जाडे नेतृत्वको पर्यवेक्षक टोलिले गरेको मापन अनुसार अस्पतालले प्रशासन र व्यवस्थापनतर्फ ९२ प्रतिशत, क्लिनिकल व्यवस्थापनमा ९० प्रतिशत, अस्पताल सहयोग सेवातर्फ ८३ प्रतिशत अंक ल्याउँदै समग्रमा ८९ प्रतिशत ल्याएको छ ।

अस्पतालले फोहोर व्यवस्थापन, सुरक्षा, स्टोर, क्यान्टिन, फार्मेसी सेवा र थेरापी सेवा सुधार गर्नुपर्ने सूचकले देखाएको जनाइएको छ । स्वास्थ्य निर्देशनालय हेटौंडाका प्रमुख महेश्वर श्रेष्ठको प्रमुख आतिथ्यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईको सभाध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटा र निर्देशनालयका फार्मेसी अधिकृत प्रकाश दुलालले प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा अस्पतालका डाक्टर हरि खड्का, पत्रकार प्रताप विष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका विभिन्न शाखाका प्रतिनिधि, हेटौंडा अस्पताल व्यवस्थापन समितिका प्रतिनिधि, अस्पतालका स्वास्थ्यकर्मी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*