विश्वकप छनोट : वेस्ट इन्डिजसँग खेल्दै नेपाल

बाइलाइन नेपाल
७ असार २०८०, बिहीबार १०:०१

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ। नेपालले आज टेस्ट टिम वेस्ट इन्डिजसँग हरारेमा प्रतिस्पर्धा गर्न लागेको हो। खेल १२:४५ मा सुरू हुनेछ।

यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग हार बेहोर्दा दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो। वेस्ट इन्डिजले भने दोस्रो खेल खेल्न लागेको हो। उसले पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो।

नेपाल र वेस्ट इन्डिजबीच एकदिवसीय खेलमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। नेपालको प्रशिक्षक नियुक्त हुनुअघि मोन्टी देसाई वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक थिए। वेस्ट इन्डिज टिमको बारेमा देसाई जानकार हुनु नेपाली टिमका लागि योजना बनाउन फाइदाजनक हुन सक्छ।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

वेस्ट इन्डिज आज खेलेपछि नेपालले अन्तिम खेल २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ। दुई मध्ये एक खेलमा जित निकाल्न सकेको अवस्थामा नेपालको सुपर सिक्स सम्भावना हुनेछ।

पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*