अनुमतिबिना साउदी अरेबिया गएकोप्रति मेसीले मागे माफी
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पेरिस सेन्ट जर्मन (पीएसजी)को अनुमतिबिना साउदी अरेबिया गएकोप्रति माफी मागेका छन् । गत आइतबार लिगमा लोरियन्टसँग घरेलु मैदानमै पराजित भएपछि मेसी साउदी अरबको भ्रमणमा निस्किएका थिए । उक्त खेलमा मेसीले ९० मिनेट मैदानमा बिताएका थिए ।
अनुमतिबिना साउदी गएपछि पीएसजीले मेसीलाई दुई साताका लागि निलम्बन गरेको थियो । मेसीले निलम्बनको समयमा पीएसजीमा प्रशिक्षण गरेका छैनन् ।
“मैले हामी सधैँजस्तै खेलपछि एक दिन बिदामा जाँदैछौँ भन्ने सोचेँ । मैले यो यात्रा व्यवस्थित गरेको थिएँ र मैले यसलाई रद्द गर्न सकिनँ । किनकि मैले पहिले नै रद्द गरिसकेको थिएँ । म मेरो टोलीका साथीहरूसँग माफी चाहन्छु र म क्लबले ममाथि के गर्न चाहन्छ भनेर पर्खिरहेको छु,” मेसीले इन्स्टाग्राम स्टोरीमा एक भिडियोमार्फत भनेका छन् ।
साउदी अरबको पर्यटन दूत भएको भन्दै क्लबले यसअघि पनि मेसीलाई जरिबाना गरेको थियो । विश्वकप विजेता फरवार्ड मेसीको पीएसजीसँगको दुई वर्षे सम्झौता यस सिजनको अन्त्यसँगै समाप्त हुँदै छ । २०२१ मा पहिलोपटक पीएसजी आउँदा मेसीले तेस्रो सिजनका लागि विकल्पमा राखेका थिए । र, क्लबका अधिकारीहरू मेसीसँगको सम्झैता नवीकरण नगर्ने निर्णयमा पुगेको जनाइएको छ ।

एजेन्सी











