नेपालले सेमिफाइनलमा कुवेतसँग खेल्ने
नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवतेसँग खेल्ने भएको छ । कुवेतले समूह बी को निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गरेको हो । त्यस्तै सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।
नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्ने भएका हुन् । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएईबीच प्रतिस्पर्धा हुनेछ ।
समूह ए मा नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रह्यो । ओमान ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ खेलमा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रह्यो ।
कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा रह्यो । युएईको नेटरनरेट २.४६८ हुँदा कुवेतको ०.२२३ रह्यो । सेमिफाइनल शनिबार र फाइनल आइतबार हुनेछ । तर कुन सेमिफाइनल खेल कहाँ हुने पक्का भने भएको छैन ।
टियु र मुलपानीमा कुन सेमिफाइनल कहाँ हुने क्यानले आज साँझ पक्का गर्ने जनाएको छ । यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । त्यस्तै शीर्ष तीन टोलीले आगमी जुनमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
नेपालले समूह चरणमा मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रन र कतारलाई ६८ रनले हराउँदै सेमिफाइनल स्थान बनाएको थियो । साउदी अरेवियासँगको खेल भने वर्षाको कारण रद्ध भएको थियो ।
कुवेत पहिलो खेलमा युएईसँग १ सय ४३ रनले पराजित भएको थियो । त्यसपछि बहराइनलाई दुई विकेट, सिंगापुरलाई ४ विकेट र हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।
हङकङको लागि भने बहराइनसँगको खेल वर्षाको कारण रद्ध हुनु घातक हन्यो । हङकङ ४ खेलमा २ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा रहेर बाहिरियो ।
अंक तालिका
समूह ए मा नेपाल ४ खेलमा ३ मा जित र एक खेलमा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । मलेसिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो ।
साउदी ४ खेलमा १ मा जित, २ मा हार १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो । कतार ४ खेलमा जित विहीन हुँदै पुछारमा रहेर बाहिरिएको थियो ।
समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । समान ६ अंक भएपनि युएई नेटरनरेटमा अघि रहँदै शीर्षस्थानमा रह्यो ।
हङकङ ४ खेलमा २ मा जित, १ खेलमा हार र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । बहराइन ४ खेलमा १ मा जित, २ खेलमा हार र १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो । सिंगापुर सबै खेलमा जित विहीन हुँदै बाहिरियो ।

बाइलाइन नेपाल











