हेटौंडा आउनेको संख्यामा कमी आयो

बाइलाइन नेपाल
३० फाल्गुन २०७९, मंगलवार १६:५३
फाइल तस्वीर

हेटौंडा । पछिल्लो समय तराईबासीको बसाई गन्तव्य रोजाइमा परेकोे हेटौंडामा चालु आर्थिक बर्षमा भवन निर्माणको दर निकै कम्जोर देखिएको छ । अघिल्लो आर्थिक बर्षमा निर्माण भएका भवन संख्याको आधारमा चालु आर्थिक बर्ष २०७९÷०८० मा कम देखिएको हो । भवन निर्माण दरका आधारमा हेटौंडामा बसाईका लागि आउनेको संख्या पनि कमी आएको आँकलन गर्न थालिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको योजना तर्जुमा तथा पूूर्वाधार विकास महाशाखा भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखाको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको २०७९÷०८० को माघ सम्ममा २३३ वटा भवन निर्माणको नक्सा पास भएको देखिएको छ । अहिलेको तुलनामा अघिल्लो बर्ष करिब ५ सयको संख्यामा भवन निर्माण अनुमति लगिसकेको अवस्था रहेको शाखाले जनाएको छ ।

शाखाका अनुसार चालु आर्थिक बर्ष २०७९÷०८० को माघ सम्म २११ नम्सा इजाजत लिन पालिकामा पेश भएको छ भने ११ वटा नक्सा म्याद थप भएको देखिएको छ । चालु बर्षमा ६० वटा नक्सा नामसारी भएको पाईएको छ । चालु आर्थिक बर्षको माघ मसान्तसम्म सार्वजनिक सडक र प्लानि स्विकृतिको काम नभएको महाशाखा प्रमुख सत्यनारायण साहले बताए ।

तथ्याङक अनुसार चालु आर्थिक बर्षको माघ मसन्त सम्म सबै भन्दा बढी भवन निर्माण इजाजत हेटौंडा–५ मा ६२, हेटौंडा–८ मा ३३, हेटौंडा–७ मा २२, हेटौंडा २ मा १२ र हेटौंडा ६ मा ११ वटा रहेको देखिएको छ भने अन्य वडामा न्यून संख्यामा रहेको जनाएको छ । तथ्याङक अनुसार साउनमा सबै भन्दा बढी ४३, भदौंमा ३०, असोजमा ४१, कार्तिकमा १५, मंसिरमा ३६, पुषमा ३७ र माघमा ३१ वटा इजातज लिने कार्य भएको देखिन्छ ।

महाशाखा प्रमुख शाहका अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा चालु बर्षको सुरुबाटै देखिएको आर्थिक मन्दीका कारण भवन इजाजत लिने संख्यामा कमि आएको हो । उनले भने ‘सबैतिर आर्थिक समस्या छ कसरी भवन निर्माणको काम हुनु ।’ बैंक तथा बित्तीय सस्थाले लगानी नगरे सम्मा अहिले भवन निर्माण हुने र बजारमा आर्थिक कारोवारमा सुधार नआएसम्म अवस्था यस्तै रहने उनको बुझाइ छ । अहिले नगरका १९ वटै वडामा न्यून संख्यामा भवन निर्माणको काम भएपनि लगानी अपुग हुँदा बनेका घरहरु पनि पुरागर्न नसकेर म्याद थप गर्नुका लागि निवेदन आउँने क्रममा रहेको उनले बताए ।

भवन अनुमती तथा मापदण्ड र्कायान्वयन शाखाका अनुसार अघिल्लो आर्थिक बर्षमा नक्सा पास ७४९, नक्सा दर्ता ७४८, म्याद थप ४९, नक्सा नामसारी १०९, सडक सार्वजनिक १४ र प्लानि· स्विकृत १३ वटा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*