एकदिवसीय मान्यता जोगाउँदै नेपाल विश्वकप छनोटको नजिकै
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय मान्यता जागाएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई हराउँदै एकदिवसीय मान्यता जोगाएको हो ।
आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले हाराएको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७१ रन बनायो ।
यो जितसँगै नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय मान्यता जोगाएको छ । नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।
साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। आजको जितले लिग-२ को अंक तालिकामा चौथो स्थानमा उक्लिएको नेपालले ३४ खेलबाट ३६ अंक जोडेको छ। बाँकी दुवै खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ।
नेपालको जितले अंक तालिकाको पाँचौ स्थानमा झरेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ। युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ।
आजको हारसँगै युएईको लिग-२ बाटै एकदिवसीय मान्यता जोगाउने अवसर सकिएको छ। अब बाँकी रहेका दुवै खेलमा जित निकाले पनि अमेरिकासँग हेड टु हेडमा पछि रहेको युएई छैटौं स्थाममै सीमित हुनेछ।
लिग-२ को अंक तालिकाको पुछारमा रहेको पिएनजीको ३४ खेलबाट ११ अंक छ। लिग-२ बाट एकदिवसीय मान्यता जोगाउने असफल भएका युएई र पिएनजीका लागि विश्वकप क्वालिफायर प्लेअफबाट एकदिवसीय मान्यता जोगाउने अवसर भने हुनेछ।

बाइलाइन नेपाल











