जनयुद्ध दिवसमा बागमती प्रदेशमा सार्वजनिक बिदा
हेटौंडा । बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ । तत्कालिन माओवादीले २०५२ साल फागुन १ गतेबाट मुलुकमा शसस्त्र जनयुद्धको सुरुवात गरेको थियो ।
जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्य भएर गणतन्त्र, संघीयता, धर्म निरपेक्षतालगायतका आमुल परिवर्तन भएका थिए । जसको सम्मानमा बागमती प्रदेश सरकारले २०७९ फागुन १ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
२४ माघमा बसेको मन्त्रिपषिद्को बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले जानकारी दिए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूूचना जारी गर्दै मन्त्रीपरिषद्को निर्णय अनुसार फागुुन १ गते जनयुद्ध दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेको छ ।
यसअघि कर्णाली प्रदेशले पनि गत २३ माघको मन्त्रिपरिषदको निर्णय अनुसार ‘जनयुद्ध दिवस’मा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । दुबै प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।


बाइलाइन नेपाल











