प्रेस सेन्टर बागमतीले हेटौंडामा गर्यो मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
हेटौंडा । प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले वागमतीका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई सम्मान गरेको छ । समितिले प्रदेश राजधानी हेटौंडामा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेका मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मानसहित अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको हो ।
समितिले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवाराज दुलाललाई सफल कार्यकालको शुुभकामनासहित सम्मान गरेको छ । सोही अवसरमा समितिले अन्र्तक्रिया पनि गरेको थियो ।
कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले समाजको सच्चा पहरेदारको रुपमा रहेका पत्रकारहरुको क्षमता विकास र मिडिया प्रवर्द्धनमा प्रदेश सरकार र आफुहरु प्रतिवद्ध रहेको बताए । उनले सञ्चारको विकास र संरक्षणमा प्रदेश सरकार सधै तयार रहेको उल्लेख गर्दै सञ्चार क्षेत्रले पनि सरकारलाई सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुु सापकोटा (जुुगल), प्रेस सेन्टरका उपाध्यक्ष तथा वागमती प्रदेश इञ्चार्ज लक्ष्मण खड्का, प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, मानकुमारी पाख्रिन, प्रेस सेन्टरका उपाध्यक्ष निर्मल ज्ञावाली, प्रेस सेन्टरका सचिव सुनिल खड्कालगायतको आतिथ्यता रहेको थियो ।
प्रदेश अध्यक्ष यदुुनाथ गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रेस सेन्टर बागमती प्रदेश महासचिव ध्रुव अधिकारीले सहजीकरण गरेको कार्यक्रममा सेन्टरका प्रदेश सचिव ध्रुवचन्द्र खड्काले स्वागत मन्तव्य राखेका थिए । प्रेस सेन्टर नेपाल वागमती प्रदेशको बैठक पनि हेटौंडामा सोमबार बसेको छ । बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको महासचिव अधिकारीले जानकारी दिए ।
बैठक तथा कार्यक्रममा प्रेस सेन्टर अन्र्तगत बागमती प्रदेशका १० जिल्लाका अध्यक्ष, प्रदेशसमितिका पदाधिकारी र केन्द्रीय नेतृत्वको सहभागिता रहेको थियो ।

बाइलाइन नेपाल











