सभामुख दिए वागमतीमा काँग्रेसले विश्वासको मत दिने

बाइलाइन नेपाल
२७ पुष २०७९, बुधबार १९:०१

हेटौंडा। नेपाली कांग्रेसले बागमती प्रदेशमा पनि सभामुख पाएको अवस्थामा गठबन्धनको सरकारलाई विश्वासको मत दिने जनाएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले केन्द्रमा जस्तै प्रदेशमा पनि आफूहरु विश्वासको मत दिन तयार रहेको तर त्यसको लागि सत्तापक्षले कांग्रेसलाई सभामुख दिनुपर्ने बताए ।

नेता लामाले केन्द्रमा पनि सरकारलाई विश्वासको मत दिएको कांग्रेसले यहाँ दिन असहज नहुने तर सभामुख सहितका केहि विषयमा सत्तापक्ष लचिलो हुनुपर्ने बताए । उनले भने, ‘राजनीतिमा केही पाउँदा केही गुमाउन पनि पर्छ भन्ने मान्यताबारे सत्तापक्षका नेताहरु प्रस्ट हुनुपर्छ, उहाँहरुले हामीलाई मत माग्दा हाम्रो पनि माग सुन्नुभयो भने हामी सकारात्मक छौं ।’

आगामी माघ ३ गते बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदैछन् । प्रदेशमा रहेको सात मध्ये ५ दलको ७० जना सभासदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई कांग्रेसको साथ नहुँदा पनि कुनै समस्या भने छैन ।

सत्तापक्षले भने राप्रपाका भुवन पाठकलाई सभामुख बनाउने गरी बिहीबार मनोनयन दर्ता गर्ने भएको छ । सत्तापक्षले आफूहरुसँग कुनै पनि छलफल र सहमति नगरेको हुँदा कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी दर्ता गर्ने लामाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*