मसालका पोलिटब्यूरो सदस्य सहित १४ जना पक्राउ

बाइलाइन नेपाल
३० कार्तिक २०७९, बुधबार ०८:१२

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा बागलुङको कुश्मीशेरा बजारबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा कोणसभा गरिरहेका नेकपा मसालका १४ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

निर्वाचन बहिष्कारका लागि आयोजना भएको कोणसभामा प्रहरी चौकी कुश्मीशेराबाट पुगेको प्रहरी टोलीले मसालका पोलिटब्यूरो सदस्य कृष्णराज पौडेल सहितका नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोलिटब्यूरो सदस्य कृष्णराज पौडेल, अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देवबहादुर लामिछाने, बागलुङका सचिव नारायण सापकोटा, प्रवक्ता रेशम गिरी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष दलबहादुर विक, अखिल भारत नेपाली एकता समाजका युवा नेता सूर्य थापा, कास्कीका प्रवक्ता विक्रम थापा, युवा वाम नेता सागर कुँवर, आकाश गौतम, विनोद विष्ट, रमाकान्त शर्मा र काठमाडौंका नेता यमप्रसाद शर्मालगायत रहेका छन् । उनीहरूलाई प्रहरी चौकी कुश्मीशेरामा राखिएको छ ।

‘निर्वाचन विरोधी गतिविधि गरेको सूचना आधारमा पक्राउ गरिएको हो, कुन पार्टीका हुन् भन्ने हामीलाई जानकारी छैन,’ जिल्ला प्रहरी प्रमुख दयानिधि ज्ञवालीले भने, ‘प्रचार सामग्रीसहित फेला परेकाले अनुसन्धान भइरहेको छ, मुद्दा चलाउने वा कागज गरेर छोड्ने अनुसन्धानपछि थाहा हुन्छ, घटनाको प्रकृति र उनीहरूको क्रियाकलापको विषयमा हामीले पहिले जानकारी लिन्छौं ।’

कोणसभाका मुख्यवक्ता पोलिटब्यूरो सदस्य कृष्णराज पौडेलले सम्बोधन गरिरहेका बेला प्रहरीले सबैलाई पक्राउ गरेको थियो । मसालका नेता कार्यकर्ता र प्रहरीबीच केहीबेर घम्साघम्सी भएको प्रत्यक्षदर्शीले बताए । प्रहरीले उनीहरूसँगै माइक र पर्चा लगायतका प्रचार सामग्री पनि जफत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*