पूर्वमा सुधार हुने,पश्चिममा अझै भारी वर्षा
पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना कायमै रहे पनि पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर बागमती प्रदेशदेखि पूर्वतिर भने आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद सन्जिव अधिकारीले जानकारी दिए ।
अधिकारीले अनलाइनखबरसँग भने, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज दिउँसो धेरै वर्षाको सम्भावना छ । तर आज राति भने कम हुने छ । भोलि दिउँसो फेरि धेरै वर्षाको सम्भावना छ । पश्चिम क्षेत्रमा आइतबारसम्म कहिँ न कहिँ भारी वर्षा हुने देखिन्छ ।’
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

बाइलाइन नेपाल











