चेपाङ समुदायको न्वाँगी पर्वमा सार्वजनिक विदा
हेटौंडा । चेपाङ समुदायको प्रमुख धार्मिक पर्व छोनाम (न्वाँगी) भदौ २२ गते मनाउँदैछन् । जसका लागि वाग्मती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा पहिलोपटक सार्वजनिक विदा दिएको छ ।
नेपाल चेपाङ संघको माग अनुसार वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत ९ गते प्रदेशको चेपाङ वाहुल्य जिल्ला मकवानपुर, चितवन र धादिङसहित तीन जिल्लामा प्रत्येक वर्षको भदौ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
प्रदेश सरकारको उक्त निर्णय अनुसार पहिलोपटक चेपाङ समुदायले आफ्नो महत्त्वपूर्ण सांस्कृतिक पर्वको दिन बुधबार विदा पाउँदै छन् । न्वाँगीको दिन सार्वजनिक विदा दिने व्यवस्था गरेकोमा चेपाङ संघले प्रदेश सरकारप्रति आभार प्रकट गरेको छ ।
चेपाङ समुदायका अगुवाहरूले आफ्नो संस्कृति र पहिचान गुमाउँदै गएको अवस्थामा सार्वजनिक विदाले चेपाङको पहिचान र संस्कृतिमाथि भइरहेको अतिक्रमण रोकिन विश्वास व्यक्त गरेका छन् । विगत ७ वर्षदेखि चेपाङ समुदायले चेपाङ संघको पहलमा सामूहिक रुपमा न्वाँगी मनाउँदै आएका छन् ।
विगतमा भदौ पूर्णिमाका दिन चेपाङहरूले एक्लाएक्लै घरमा न्वाँगी मनाउने गर्थे । प्रकृतिक पूजक चेपाङहरूले आफ्नो धर्म परिवर्तन गर्न थालेपछि न्वाँगी पर्व मनाउने क्रम क्रमशः लोप हुँदै गएको बताइन्छ । परिवर्तनकारी युवा चेपाङहरू सक्रिय भएर संघको अगुवाइमा प्रत्येक वर्षको भदौ २२ गते सामूहिक रुपमा न्वाँगी मनाउन थालेका हुन् ।
चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफुल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस न्वाँगी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा लगायत अन्न र फलफुल भूमि र पितृलाई चढाउने गरिन्छ । उक्त पर्वमा भोज खाने र रातभर नाचगान गरेर रमाइलो गर्ने चलन छ ।
यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भासामा (छोनाम) भन्छन् भने खस नेपाली भासामा न्वाँगी भनिन्छ । चितवनमा यो समुदायको बसोबास बढी रहेको बताइन्छ । जहाँ चेपाङको जनसंख्या २८ हजार ९ सय ८९ छ । दोस्रो मकवानपुरमा १९ हजार २ सय ३३ र तेस्रो धादिङमा १४ हजार ४ सय ९२ छ । यस्तै गोरखामा ३ हजार ४ सय ५४ चेपाङ समुदायको बसोबास छ ।

बाइलाइन नेपाल











