आज हरितालिका तीज

बाइलाइन नेपाल
१४ भाद्र २०७९, मंगलवार ०७:४६
फाइल तस्वीर

हिन्दु नारीहरूले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ। आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । तथापि, आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजा आराधना गरेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ ।

अघिल्लो दिन राति दर खाएर आज तीजको दिन व्रत बसेर शिव–पार्वतीको पूजा गर्ने चलन छ । यस दिन महिलाहरू आफ्नो शरीरको अवस्थाअनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि तीजको व्रत बस्नुपर्ने मान्यता छ । तीजको अवसरमा अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस् भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन् ।

दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयामा हरितालिका व्रत, चौथीमा गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व समापन हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*