केन्याविरुद्ध नेपालको विजयी शुरूवात

बाइलाइन नेपाल
१० भाद्र २०७९, शुक्रबार ०७:०७
फाइल तस्वीर

टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत केन्याविरुद्धको पहिलो खेलमा नेपालले विजयी शुरुवात गरेको छ । केन्याको ग्यामखाना रंगशालामा बिहीवार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटको पराजित गरेको हो । केन्याले नेपाललाई दिएको १३१ रनको लक्ष्य ४ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३३ र आरिफ शेख २४ रनमा नटआउट रहे । ओपनर पवन सर्राफ १ रनमा क्याचआउट हुँदा आशिफ शेख १९ रनमा बोल्ड भए ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ३० बल खेल्दै २३ रन र रोहितले १४ बलमा १३ रनको योगदान दिए ।

जितका लागि नेपाललाई १२ रन आवश्यक हुँदा दिपेन्द्र क्याचआउट भएका थिए । आदिल अन्सारी २ रनमा नटआउट रहे । केन्याका लुकास ओलुच र भिराज पट्टेलले समान २ विकेट लिए । नेहेमिया ओधिम्बोले एक विकेट लिए ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि केन्याले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३० रन जोडेको थियो । इर्फान करिमले ३३, कोलिन्स ओवुयाले १२, नेलसन ओधिम्बुले १९ र सचिन भुदियाले १७ रन जोडे। लुकास ओलुचले १३ बलमा ३१ रन जोड्दै नटआउट रहे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले ४ ओभरमा २२ रन खर्चिएर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले समान ओभरमा ३३ रन खर्चिएर २ विकेट लिए । आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट हात पारे ।

केन्या भ्रमणमा रहेको नेपालले ५ टि २० र ३ एक दिवशीय शृंखला खेल्ने तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*