समानुपातिकतर्फ भाग लिन चाहने दललाई निवेदन दिन आह्वान

बाइलाइन नेपाल
८ भाद्र २०७९, बुधबार ०९:१६

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आह्वान गरेको छ।

आयोगले बुधबार सूचना निकालेर यही भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय (बहादुर भवन, कान्तिपथ, काठमाडौं) मा निवेदन दिन भनेको हो।

यसअघि निर्वाचन प्रयोजनका लागि ८४ वटा दलले दल दर्ता गराइसकेका छन्। यीमध्ये प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकमा भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोगमै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

आयोगका अनुसार एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग–अलग रूपमा निवेदन दिन पाउनेछन्।

आयोगको सूचनामा भनिएको छ : एकल चुनाव चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन दिँदा त्यस्ता सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग अलग रूपमा निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिले र त्यस्ता दलहरूले निर्णय गरी अलग अलग व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिहरूले संयुक्त रूपमा हस्ताक्षर गरी निवेदन दिनुपर्नेछ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*