थानकोट–चन्द्रागिरी सडक स्तरोन्नति गर्ने मन्त्रीको आश्वासन
हेटौंडा । थानकोट–चन्द्रागिरी–चित्लाङ सडक स्तरोन्नति गर्न संघीय मन्त्रीहरु सकारात्मक भएका छन् ।
थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकाका प्रतिनिधिहरु संग मंगलबार भएको छलफलका क्रममा भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद इस्तियाक राई र अर्थमन्त्री जनार्दन शर्मा सकारात्मक भएका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र सडक विभागका महानिर्देशक अर्जुनजंग थापा सहितको छलफलमा सडक विभागले उक्त सडकको डिपिआर तयार गरेपछि सडक निर्माण र स्तरोन्नति गर्न लाग्ने बजेट सुनिश्चित गर्न दुबै मन्त्रीहरु सकारात्मक भएका हुन् ।
थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकाको संयुक्त बैठकले यसै आर्थिक बर्षमा थानकोट चन्द्रागिरी चित्लाङ सडक स्तरोन्नति गर्न सबै प्रकारको प्रयस र सहयोग गर्ने निर्णय गरिएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले बताए।
भौतिक पूर्वाधार विकास मन्त्री राईले ५० करोड भन्दा कम लागतको डिपिआर तयार भए मन्त्रालयबाट नै बजेटको ब्यवस्था गर्ने ५० करोड भन्दा बढि लागत लाग्ने भए अन्य मन्त्रालयमा सिफारिश गर्ने बताए।

अर्थमन्त्री शर्माले भौतिक पूर्वाधार बिकास मन्त्रालयबाट आएको योजनामा बजेट बिनियोजन गर्न आफु सकारात्मक भएको बताए। अर्थमन्त्रीले बजेट भाषणमै चन्द्रागिरिबाट चितवन जोड्ने द्रुत मार्गको निर्माण गर्ने उल्लेख गरेका छन् ।
थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले संघीय राजधानी र प्रदेश राजधानीलाई जोड्ने सबैभन्दा छोटो मार्ग भएकोले थानकोट–चन्द्रागिरी–चित्लाङ सडक स्तरोन्नति गर्न अत्यावश्यक भएको बताए। उनले त्रिभुवन राजपथ अन्तरगत नौबिसे थानकोट सडकको चाप कम गर्न पनि यो सडकले सहयोग गर्ने उल्ल्ेख गरे ।
मन्त्रीहरुसंगको छलफलमा थाहा नगरपालिकाका प्रमुख बिष्ट, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, माओबादी नेता रामनारायण बिडारी, बिष्णुहरि ढकाल (जंगली), नेपाली कांग्रेसका नेता जयराम लामिछाने, माओवादी केन्द्र बागमती प्रदेश सदस्य इन्द्रबहादुर श्रेष्ठ, थाहा नगरपालिका वडा नं. ९ का अध्यक्ष राजकुमार बलामी,३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी लगायतको सहभागिता रहेको थियो ।
छलफलमा त्रिभुवन राजपथको धादिङ नौबिसे सडक खण्ड जिर्ण भएकोले सो सडकको मर्मत गर्नको लागि समेत अनुरोध गरिएको छलफलमा सहभागि माओवादी केन्द्र बागमति प्रदेश सदस्य इन्द्रबहादुर श्रेष्ठले बताए।

राजकुमार केसी











