वाग्मती प्रदेशसभा बैठक : ५ वटा अध्यादेश स्वीकृत

बाइलाइन नेपाल
३० असार २०७९, बिहीबार ०६:५६

वाग्मती प्रदेशसभाको बैठक ५ वटा अध्यादेशलाई स्वीकृत प्रदान गर्दै अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । बुधबार दिउँसो बसेको प्रदेशसभा बैठकले सरकारले सदन अवरुद्ध भएको समयमा जारी गरेको विभिन्न अध्यादेशलाई स्वीकृत प्रदान गरेको हो ।

प्रदेशसभामा पेस गरिएको ‘प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश,’ ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश,’ ‘विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश,’ ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश,’ ‘प्रदेश युवा परिषद् ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’लाई बैठकले स्वीकृति प्रदान गरेको हो ।

प्रदेशभामा मुख्यमन्त्री राजेन्द्र पाण्डेले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश,’ ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश,’ आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले, ‘विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश,’ पेस गरेका थिए । पदकसम्बन्धी अध्यादेश जारी गर्दै प्रदेशले विभूषणको डिजाइन गरेको थियो । प्रदेशले बिहीबार विभूषण वितरणसमेत गर्दैछ ।

बैठकमा स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश’ युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश युवा परिषद् ऐन,२०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेस गरेका थिए ।

बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले, केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा समितिको निर्णयको प्रतिवेदन पेस गरेका थिए ।

बैठकको शून्य समयमा सांसदहरुले आफ्नो धारणा राखेका थिए । शुन्य समयमा सत्तापक्षका ५ जना र प्रतिपक्षका ७ जना सांसदले धारणा राखेका थिए । बैठकमा प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*