श्रीलंकामा ग्यास र पेट्रोल वितरण सुरु
कोलम्बो । चरम आर्थिक संकटलाई लिएर सरकार विरुद्ध भएको एक साता लामो प्रदर्शनपछि श्रीलंकाका केही भागमा अन्ततः सीमित मात्रामा ग्यास र इन्धनको आपूर्ति पुनः सुरु भएको छ । सोमबार राजधानी कोलम्बोका फिलिंग स्टेसन र सामुदायिक केन्द्रहरूमा ग्यास र इन्धनका लागि हजारौँ स्थानीय बासिन्दा लाममा बसिरहेका देखिन्छन् ।
महिनौँ इन्धन, खाद्यान्न र अन्य आधारभूत सामग्रीको चरम अभावपछि पछिल्लो आपूर्तिले जनतालाई ठूलो राहत प्रदान गरेको छ ।
लयमा फर्किंदै श्रीलंका, राष्ट्रपति निर्वाचन मार्चअघि हुने
स्वतन्त्रता पाएयता श्रीलंकामा पहिलो पटक यति ठूलो आर्थिक संकट चुलिएको हो । अनियन्त्रित मुद्रा अवमूल्यनका कारण बजार भाउ अचाक्ली बढ्नुका साथै मुलुकको विदेशी मुद्रा सञ्चिति समाप्त हुन पुगेको थियो । जसले गर्दा मुलुकलाई खाद्यान्न, इन्धन र औषधि आयात गर्न धौधौ परिरहेको थियो ।
शनिबार हजारौँ आक्रोशित जनता राष्ट्रपति गोटाबय राजापक्षेको सरकारी निवासमा प्रवेश गरेका थिए । अहिले जनतालाई टोकन प्रणालीबाट सीमित परिमाणमा ग्यास र पेट्रोल वितरण हुन थालेको हो ।

एजेन्सी











