के नेपालमा कोरोनाको चौँथो लहर आउला ?

बाइलाइन नेपाल
२७ असार २०७९, सोमबार ०६:४०

असारयता नेपालमा कोभिड १९ संक्रमितको संख्या निरन्तर उकालो लागेको छ । आइतबार एकैदिन १२१ जनामा संक्रमण पुष्टि भएको छ ।

असारका २६ दिनमा एक हजार ३२९ जना संक्रमित थपिएका छन् । आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ६७८ पुगेको छ । गत बुधबार दुईजनामा अ‍ेमिक्रोनको नयाँ उपप्रजाति बीए.५ पुष्टि भएको थियो ।

बीए.५ देखिएसँगै यो उप प्रजातिले संक्रमितको संख्या उच्च गराउन सक्ने र चौँथो लहर आउनसक्ने विज्ञहरूको आकलन छ । के नेपालमा बीए.५ का कारण कोभिड १९ संक्रमणको अवस्था दोस्रो र तेस्रो लहरमाजस्तै होला त ?

बीए.५ कति संक्रामक ?
बीए.५ कोभिड १९ को तेस्रो लहरमा देखिएको ओमिक्रोन भेरियन्टको पछिल्लो उपप्रजाति हो । यो अहिलेसम्म देखिएका ओमिक्रोनका भेरियन्टमध्ये सबैभन्दा बढी संक्रामक रहेको अध्ययनहरूले देखाएका छन् । बीए.५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यो कोभिडको अन्य भेरियन्ट भन्दा फरक रहेको र यसका लक्षण पनि फरक ढंगले देखिन थालेको अनुसन्धानहरूले देखाएका छन् । कोभिड जोखिम अध्ययन गर्ने अनुसन्धानकर्ताहरूको टोलीले बीए.५ कै कारणपछि धेरै देशहरूमा संक्रमणको चौँथो लहर निम्तिइरहेको बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार बीए.५ ले एकपटक संक्रमण भएको एक साताभित्रै पुन: संक्रमण गराएको पनि पाइएको छ भने यसअघिका भेरियन्टभन्दा फरक लक्षणहरूसमेत देखिएको छ । यद्यपि सबैभन्दा कान्छो भेरियन्ट भएकाले बीए.५ बारे पर्याप्त अनुसन्धान भने हालसम्म भइसकेको छैन ।

नेपालमा बीए.५ का कारण पहिलेकोजस्तै होला अवस्था ?
पछिल्लोपटक सबैभन्दा बढी कोभिड १९ संक्रमण फैलिएको अमेरिकामा कूल संक्रमितमध्ये ५४ प्रतिशतमा बीए.५ देखिएको छ । बेलायतमा देखिएका अधिकांस केसमध्ये बीए.५ नै देखिएका छन् ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्टअनुसार दक्षिणपूर्वी एसियाली मुलुकहरूमा ३२ प्रतिशत, युरोपेली देशहरूमा ३३ प्रतिशत, मध्यपूर्वी एसियाका मुलुकहरूमा ४७ प्रतिशतले केसहरू बढेको देखिएको छ । तीमध्ये ३४ प्रतिशतमा ओमिक्रोनको सब भेरियन्ट बीए.५ संक्रमण रहेको पुष्टी भएको छ ।

नेपालमा कोभिड–१९ विरुद्धको खोप लगभग सबै नागरिकमा पुगिसकेको अवस्थामा फेरि संक्रमण बढ्नुलाई विज्ञहरूले धेरै कोणबाट व्याख्या गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला केही महिनायता जनस्वास्थ्यका मापदण्डमा लापरबाही गरिएका कारण संक्रमणको जोखिम बढेको जनाउँदै आएको छ । तर, पछिल्लो समय संक्रमण बढ्नुमा स्वास्थ्यका मापदण्ड मात्रै नभई अन्य कारणहरू पनि रहेको विज्ञहरू बताउँछन् ।

“हामीले लगाएको कोभिड–१९ विरुद्धको खोपका लास्टिङ अवधि ६ महिनासम्म हुन्छ । सुरु–सुरुमा लगाएकाहरूमा अब खोपले प्रतिरक्षा गर्ने अवधि सकिँदै गएकाले संक्रमित हुने सम्भावना बढ्दै जान्छ,” संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला भन्छन् .

तर नेपालमा ओमिक्रोनको बीए.४ र बीए.५ भेरियन्टले संक्रमण फैलाइरहेको भन्ने लगभग पुष्टि भइसकेको छ । यो अवस्थामा नेपालमा फेरि संक्रमण नफैलिएला भन्न नसकिने डा. कोइरालाको तर्क छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बीए.५ का कारण संक्रमण केही बढ्नसक्ने देखिएपनि पहिलेका लहरहरूमाजस्तो सिकिस्त हुने, अस्पताल भर्ना गर्नपर्ने केसहरू भने कम हुने बताउँछन् । यसको मुख्य कारण खोप रहेको उनी बताउँछन् ।

“पहिलो कुरा समुदायमा धेरैभन्दा धेरैलाई संक्रमण भइसकेको छ । दोस्रो कुरा १८ वर्षमाथिका झन्डै सतप्रतिशतले कोभिड १९ विरुद्धको खोप लगाइसकेको अवस्था छ,” डा. पुन भन्छन्, “यो अवस्थामा मानिसहरू संक्रमित नहोलान् भन्न सकिँदैन । संक्रमण दर पनि केही बढेर जाला तर पहिलेजस्तो भयानक हुने अवस्था आउने म देख्दिन,” उनको भनाइ छ । तर संक्रमणबाट बच्न स्वास्थ्यका मापदण्ड अपनाउन र बुस्टर डोज खोप लिन डा. पुनको सुझाव छ । -बाह्रखरी डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*